फेसबुक ट्रम्पको विरोधी होइन: जुकरबर्ग

काठमाडौं, असोज १२ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जाल फेसबुक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विरोधी रहेको आरोपको खण्डन गरेका छन्।

जुकरबर्गले फेसबुकले ‘सबै मानसका निम्ति एउटा समुदाय बनाउने प्रयास जारी राख्ने’ बताए।

राष्ट्रपति ट्रम्पले फेसबुक ‘षड्यन्त्रकारी’ र आफूविरुद्ध भएको ट्वीटरमा आरोप लगाएका थिए।

विगतमा ट्रम्पले न्यूयोर्क टाइम्स र वाशिङटन पोस्ट पत्रिकामाथि पनि त्यस्तै आरोप लगाएका थिए।

गत वर्षको राष्ट्रपतीय चुनावमा मस्कोले गरेको भनिएको हस्तक्षेपबारे छानबिन गरिरहेको संसदीय समितिलाई फेसबुकले तीन हजार भन्दा बढी राजनीतिक विज्ञापनबारे विवरण उपलब्ध गराउँदैछ।

राष्ट्रपतीय चुनावका बेला ती विज्ञापनहरुका लागि सम्भवतः रुसी पक्षबाट रकम दिइएको फेसबुकको विश्वास छ।

चुनावमा रुसी हस्तक्षेपबारे आउँदो नोभेम्बर १ तारिखमा संसद्को गुप्तचर समितिलाई प्रश्नहरुको जवाफ दिन फेसबुक, ट्वीटर र गुगललाई भनिएको छ।
समितिमा उपस्थित हुन औपचारिक रुपमा पत्र पाएको फेसबुक र गुगलले बताएका छन्।

यद्यपि समितिमा उपस्थित हुने वा नहुनेबारे उनीहरुले केही बताएका छैनन्। मस्कोले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ।बिबिसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!