मासुले दीर्घमालिन रोग निम्त्याउला ! यस्ता छन् बच्ने उपाय

नारायण अधिकारी
चितवन, असोज १२ । दशैमा मानिसहरु अत्याधिक मासु खाने गर्दछन् । वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ ।

देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

जिल्ला पशु सेवा कार्यालय, चितवनका प्रमुख डा. डिल्लिराम सेढार्इं रोगी पशुको मासु खाएमा यसले दीर्घकालीन हानि पु¥याउनसक्ने बताउछन् । उनका अनुसार मासुका लागि निरोगी पशु चौपाया बध गर्नुपर्छ ।

सामान्यतः नाकबाट सिँगान बगाएको, झोक्राएको, निन्याउरो, खुट्टा टेकेर उभिन नसकेको, टाउको झुकेको, आँखा चम्किलो नभएको, आँखामा कचेरा आएका पशु रोगी हुने हुँदा त्यस्ता पशुको मासु खानु हुँदैन । कतिपय रोग पशुचौपायाबाट मानिसमा सर्ने उनी बताउँछन् ।

क्षयरोग, बोकाको अण्डकोष सुनिने ब्रुसेलोसिस, टेपवर्मजस्ता रोग पशु चौपायाबाट मानिसमा सर्नेहुँदा निरोगी पशु छानेर मात्र मासु खान सेढार्इंले सुझाव दिएका छन् ।

त्यसो त पशुचौपाया बध गरेपछि निरोगी भए पनि पकाउँदा ख्याल गर्नुपर्ने चिकित्सक बताउँछन् । मुख्यरुपमा पोलेका, तारेका, केमिकलको प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुनसक्ने उनीहरुको भनाइ छ ।

क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने उनीहरु बताउँछन् ।

विगत १७ वर्षदेखि क्यान्सर विशेषज्ञका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सेवा गरेर हालै मात्र निवृत्त हुनुभएका डा भोलाप्रसाद रौनियार रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउँदा कार्सिनोजेनिक उत्पादन गर्ने हुँदा स्वास्थ्यका लागि हानिकारक हुने बताउछन् । यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान सुझाव दिएका छन् ।

धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर केमिकल मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने उनी बताउँछन् ।

बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ नखान पनि चिकित्सकहरुले सल्लाह दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!