दार्जिलिङ्ग आन्दोलन स्थगित

नयाँ दिल्ली । आन्दोलन भड्कीएर ११ जनाको ज्यान जाने गरी विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम स्थगित भएको छ ।

भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

दार्जिलिङ्ग बन्द स्थगित भएपछि त्यहाँको स्थिति पहिलेको जस्तै सामान्य बनेको छ ।

पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ्ग र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य – गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङ्गको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो ।

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङ्गले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ ।

दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ ।

गत मङ्गलबार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई ‘प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिने’ भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गरेका थिए ।

गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्द गत एक सय चार दिनदेखि चल्दै आइ त्यहाँको जीवन कष्टकर बन्दै आइरहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!