बसको अभाव भएपछि रुट परमिट खुला

पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलका इलामलगायतका ठाउँमा यात्रुबाहक बसको अभाव भएपछि यातायात व्यवस्था विभागले सडक इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागका अनुसार असोज ११ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरिएको हो । यससँगै उल्लेखित ठाउँमा रुट परमिट नभएका बसहरू पनि यात्रु लिएर जान–आउन पाउनेछन् । ‘यस्तो

रुट परमिट सार्वजनिक यात्रुबाहक सवारीसाधनका लागि मात्र उपलब्ध हुनेछ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने । विभागका अनुसार दसैँमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र आउने यात्रुको यात्रालाई सरल र सहज बनाउन रुट परमिट खुला गरिएको हो । अघिल्ला वर्षहरूमा पनि दसैँमा रुट परमिट खुला गर्ने गरिएको थियो ।

बिपी राजमार्गमा भने यथावत्
अन्य राजमार्गमा इजाजतपत्र खुला गरे पनि बिपी राजमार्ग (बनेपा–धुलिखेल–सिन्धुली–बर्दिबास) सडकमा भने रुट परमिट खुला गरिएको छैन । उक्त रुटबाट ठूला सवारीसाधन गुडाउन नपाइने भएकाले परमिट नभएका सवारीसाधन गुड्न पाउने छैनन् ।

यात्रु सहजै घर पुगुन् भनेर रुट परमिट खुला

वीरबहादुर बलायर, मन्त्री,
भौतिक पूर्वाधार तथा यातायात

यो वर्ष यातायात व्यवसायीले यात्रुबाहक बस थप नगरेपछि देशका केही क्षेत्रमा मौजुदा साधनले नपुग्ने देखियो । विशेषगरी आज (मंगलबार) देखि यस्तो समस्या देखिएपछि विभागलाई रुट परमिट खुला गर्न निर्देशन दिएको हुँ ।

यसको साथै घर जान चाहनेहरूको गुनासोलाई मध्यनजर गरी यो निर्णय गरिएको हो । निर्णय नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँगको सहमति र समन्वयमा गरिएको छ । व्यवसायीले अभाव भएका धनगढी, इलामलगायतका ठाउँका लागि दैनिक थप तीन सय सवारीसाधन उपलब्ध गराउन सकिने जानकारी गराएका छन् ।

फुलपातीको दिन सबैभन्दा ठूलो भिड

मंलगबार सा“झसम्ममा काठमाडौं उपत्यकाबाट दसैँ, तिहार तथा छठलगायतका चाड मनाउन १५ लाख मानिस बाहिरिएका छन् । बुधबार (फुलपाती) को दिन बाहिरिने संख्या सबैभन्दा बढी हुने यातायात व्यवसायीले बताएका छन् ।

‘फुलपातीको दिन २ लाखभन्दा बढी बाहिरिने तयारी छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । त्यो भिडलाई व्यवस्थापन गरेर यात्रुलाई घरसम्म पु¥याउनु ठूलो चुनौती भए पनि सफल बनाएरै छाड्ने महासंघको भनाइ छ ।

ग्रामीण क्षेत्रतर्फ गएका सवारीसाधन भने सडकको दुरावस्थाको कारण समयमा फर्कन नसक्दा ढिला भइरहेको यातायात व्यवसायीको गुनासो छ । राजमार्गमा भने तुलनात्मक रूपमा यात्रा सहज रहेको छ ।

नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!