कलैया अपडेट- पुन: मतदानको माग गर्दै एमालेद्वारा मतगणना बहिस्कार

बाराको कलैया उपमहानगरपालिकाको स्थगित मतगणना सुरु भएको छ । एमालेको विरोधपछि सोमबार साँझबाट स्थगित मतगणना मंगलबार साँझबाट सुरु भएको हो ।

वडा नं २० को मतगणनाको क्रममा १२ वटा मतपत्रमा स्वस्तिक छापको ठाउँमा अर्कै छाप प्रयोग भएको भेटिएपछि एमालेसहितका केही दलले पुनः मतदानको माग गरेपछि गणना रोकिएको थियो ।

तर, निर्वाचन आयोगले अर्को छाप प्रयोग भएका सबै मतपत्रलाई बदर मानी अन्य मतगणना गर्नु भन्ने निर्देशन दिएपछि मंगलबार साँझबाट गणना अघि बढाइएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए ।

मतगणना अघि बढाउने निर्णय अस्वीकार गर्दै एमालेका उम्मेदवार र प्रतिनिधिले बहिस्कार गरेका छन् । उनीहरूको बहिस्कारका बाबजुद गणना अघि बढेको छ । आयोगको निर्देशन चित्त नबुझेको भन्दै उनीहरू उठेर हिँडेका हुन् ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारमा उल्लेख छः

‘आयोगसँग निर्देशन माग गर्दा गणना शुरु गर्नु भन्ने निर्देशन प्राप्त भयो,’ मुख्य निर्वाचन अधिकृत थापाले भने, ‘सोहीअनुसार काम सुरु गरिएको छ । एमालेका उम्मेदवार र प्रतिनिधि भने उठेर जानुभयो ।

अन्य दल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको रोहबरमा मतगणना भइरहेको छ ।’ उनले बुधबार बिहानसम्म अन्तिम मतपरिणाम आइसक्ने बताए ।

पछिल्लो मत परिणामअनुसार मेयरमा एमालेका विनोद साह १०६३१ मतका साथ अगाडि छन् । उनलाई कांग्रेसका उम्मेदवार राजेश राय यादवले १०५६१ मतका साथ पछ्याइरहेका छन् । फोरम नेपालका उम्मेदवार प्रमोद गुप्ताले ९२७३ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकै अग्रता छ । एमाले उम्मेदवार प्रतीमा यादवले १०२९० मतका साथ अग्रता लिइरहेकी छिन् । दोस्रो स्थानमा रहेकी कांग्रस उम्मेदवार रहिमा खातुनले भने १०२०० मत प्राप्त गरेकी छिन् । फोरम नेपालकी उम्मेदवार लक्ष्मीदेवी पटेलको ८५०६ मत छ ।

अहिले २० नम्बर वडाको मतगणना भइरहेको छ । मेयर र उपमेयरमा एमाले र कांग्रेस उम्मेदवारबीच मतान्तर निकै कम रहेकाले यही वडाको मत निर्णायक हुने देखिएको छ ।

करिब २४ सय मत खसेको २० नम्बर वडाको १२८५ मत गणना भइसकेको छ । यस वडाबाट कांग्रेसलाई अत्यधिक मत खसेको देखिन्छ । १२८५ मत गणना गर्दा मेयरमा कांग्रेस उम्मेदवारले ४५३, एमाले उम्मेदवारले १३९ र फोरम नेपालका उम्मेदवारले ३२३ मत पाएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसले ४५७, एमालेले १२३ र फोरम नेपालले २५५ मत पाएको छ । मेयर र उपमेयरमा एमाले–कांग्रेसबीच जम्मा एक सय मतको मात्र अन्तर रहेकाले निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!