वडाध्यक्ष सहित १२ जना जुवाडे विरुद्ध मुद्दा दर्ता

इनरुवा, असोज १० । प्रहरीले तीन दिन अघि जुवाको खालबाट पक्राउ गरेका सुनसरी काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई मंगलबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरी काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेका थिए ।

पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद अटल, शम्भुकुमार साह र महेन्द्र यादव छन् । त्यस्तै भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, महेन्द्र यादव, सङ्खुवासभाका विनोद ओझा र भारत पटनाका रामअयोध्या शर्मा छन ।

प्रहरीले जुवाको खालबाट चार लाख २२ हजार १३५ नेपाली रुपैयाँ र ९२ हजार ३८० भारतीय रुपैयाँ बरामद गरेको थियो ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई गएको आइतबार राति पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको उनले बताए ।

कटुवा पेस्तोलसहित दुई पक्राउ

यसैगरी सुनसरीको दुहवी नगरपालिकाबाट कटुवा पेस्तोलसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहवी नगरपालिका–८ का मुरतुजा मियाँ र इनरुवा नगरपालिका–७ चान्दवेलाका कुर्वान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी अधिकृतको टोलीले दुबै जनालाई पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक र सोमा लाग्ने गोली एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक चिमरियाले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!