विक्री भएनन संस्थानका खसी बोका

काठमाडौं, असोज १० । नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ ।

दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भइसकेका छैनन् ।

संस्थानले दाङ र हेटौँडाबाट एक हजार ५ सय खसी तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि बिक्री नभएपछि अरु ७ सय खसी, बोका तथा च्याङ्ग्रा ल्याएको छैन ।

संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी गएको असोज ५ गतेदेखि बिक्री वितरण शुरु गरेको थियो ।

बिक्री नभएका करिब ४ सय खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्न अष्टमीसम्म समय अवधि थप गरिएको संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिए ।

अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल देखिएको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!