वामपन्थी दलबीच एकता आवश्यकः नेता नेपाल

चितवन, असोज १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताएको छ ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताएको हो ।

वामपन्थी तालमेलका विषयमा नेकपा माओवादी केन्द्र तयार रहे एमाले तयार रहेको उनले बताए । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने बताए । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उनले बताए ।

फरक प्रसङ्गमा उनले प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गरे । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि प्रदेश नं २ मा समग्रमा एमाले दोस्रो भएको उनले बताए । नेपालले भने– “समग्रमा निराशाजनक छैन ।”

पार्टीको आन्तरिक कमीकमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण प्रदेश नं.२ मा एमाले पछि परेको पनि बताए ।

अर्को प्रश्नमा उनले काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने बताए । उनले भने, “जहाँका जनताले माया गर्छन् त्यहीँबाट निर्वाचन लड्छु ।” स्थानीय तहको निर्वाचनको समयमा भएका कमी–कमजोरीका कारण खोज्दै अघि बढ्ने नेता नेपालको भनाइ थियो । गतिशील खबरबाट

कमेन्ट गर्नुहोस्