प्रजिअ नै छड्के अनुगमनमा

अछाम असोज ९ । अछाम प्रशासनले सार्वजनिक यातायातमा घटाइएको भाडादर कार्यान्वयन भए नभएको बारे छड्के अनुगमन कार्य सुरु गरेको छ ।

दशैं तिहारलाई मध्यनजर गर्दै यात्रुहरु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर ब्यावसायिले कार्यान्वयन गरे नगरेको बारे छडके अनुगमन सुरु गरिएको हो ।

बजार अनुगमन कार्यलाई तीब्रताका साथ अगि बढाईरहेको प्रशासनले यातायातका साधनहरुको अनुगमन गरेको छ । सोमवार मंगलसेन, जयगढ, साँफेबगर सडक खण्डमा सञ्चालन हुने जीप तथा बसहरुले भाडादर कार्यान्वयन गरे नगरेको र नियमानुसार यातायात सञ्चालन गरे नगरेको बारे निगरानी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा गरिएको छड्के अनुगमनका क्रममा बाटोमा भेटीएका यातायातका साधनहरु जीप तथा बस सञ्चालक र त्यसमा सवार यात्रुहरुलाई सोधपुछ गरिएको र भाडादर कार्यान्वयन भए नभएको तथा नियमानुसार यातायात सञ्चालन भए नभएको बारे अनुगमन गरिएको छ ।
सो क्रममा केही यात्रुहरुले आफुहरु साँफे, जयगढ मंगलसेन खण्डमा पुरानै भाडा तिरिरहेको बताएका प्रजिअ चौधरीले जानकारी दिए ।

यस्तै यातायात सञ्चालक र सवारी चालकहरुलाई पनि साँफे मंगलसेनको एक सय ६० र साँफे जयगढ तथा जयगढ मंगलसेनको ८० रुपैयाँ निर्धारण गरिएकाले सो भाडादरमै यात्रुलाई सेवा दिन निर्देशन गरिएको उनको भनाई छ । सवारी साधनको सिट क्षमता भन्दा बढी यात्रु नबोक्न निर्देशन गरिएको र त्यसो नगरेको गुनासो आए ठाँउको ठाँउ कारबाही गरिने प्रशासनले जनाएको छ ।

यात्रुहरुलाई पनि सवारीचालक र सञ्चालकले निर्धारित भाडादर भन्दा बढि लिएमा र क्षमताभन्दा बढी यात्रु बोकेमा प्रहरीको १०० नम्वरमा फोन गरि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले तीनवटै सुरक्षा निकाय र यातायात ब्यावसायीको सहभागीतामा अछामका सबै क्षेत्रमा सञ्चालन हुने बस तथा जीपहरुको भाडादर २० देखि १०० रुपैयाँसम्म घटाएर नयाँ भाडादर निर्धारण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!