नाराबाजीका बीच मुलुकी देवानी कार्यविधि संहिता २०७३ पारित

काठमाडौं, असोज ९ । नाराबाजीका बीच व्यवस्थापिका–संसद बैठकले मुलुकी देवानी कार्यविधि संहिता २०७३ पारित गरेको छ।

सोमबार बसेको व्यवस्थापिकाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदहरु प्रेम सुवाल र अनुराधा थापा मगरले संसदको गणपूरक संख्या यकिन गर्न माग गरिरहेकै समयमा सभामुख ओनसरी घर्तीले विधेयक निर्णयार्थ पेश गरेर सर्वसम्मतिले पारित भएको घोषणा गरेकी हुन ।

सभामुख घर्तीले देवानी कार्यविधि संहिता निर्णयार्थ प्रस्तुत गर्दा सांसदहरु सुवाल र अनुराधा थापामगर आफ्नो सिटबाट उठेर गणपूरक संख्या यकीन गर्न माग गरिरहेका थिए। संसदमा कोही संसद उठेमा संसद अवरुद्ध भएको मानिनेछ, तर सभामुख घर्तीले सांसदहरु उठेको वेवास्ता गर्दै विधेयक पारितको प्रक्रिया अघि बढाएकी थिइन्।

सभामुख घर्तीले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापालाई मुलुकी देवानी संहिता पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिइन्।

थापाले प्रस्ताव पेश गर्न रोस्टममा जाँदा सांसदहरु सुवाल र थापा मगरले गणपूरक संख्या यकिन गरु भन्दै नाराबाजी गरिरहेका थिए। नाराबाजीकै बीच कानुनमन्त्री थापाले प्रस्ताव पेश गरे र सभामुखले त्यसलाई निर्णयार्थ पेश गरिन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!