प्रचण्डले कालिकोट पुगेर भने–२०७४ संविधान कार्यान्वयन र चुनाबी वर्ष

कालिकोट, असोज ८। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७४ साल संविधान कार्यान्वयन र चुनावी वर्ष भएको बताएका छन ।

कालिकोटको मान्ममा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले प्रगतिशील र संघीय गणतन्त्रको संविधान बनाएका छौं । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं । २०७४ साल संविधान कार्यान्वयनको वर्ष हो, चुनावी वर्ष हो । संविधान कार्यान्वयनले मात्र राजनीतिक स्थिरता हुन्छ, विकास र समृद्धि हासिल हुन्छ । संविधान कार्यान्वयनको मेरो अभियान सफल हुँदैछ, म निकै खुसी छु, संघ र प्रदेशको चुनाव पनि शान्तिपूर्ण रुपमै सम्पन्न हुन्छ ।’

‘म प्रधानमन्त्री हुँदा एकथरी साथीहरुलाई निकै ठूलो डर थियो । प्रचण्डले देशै बर्वाद पार्छ भन्ने प्रचार पनि गरियो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर मैले दस महिना जुन मेहेनत गरें, त्यसले ती सबै भ्रम र प्रचार अन्त्य भए । हामी क्रान्तिका लागि मात्रै होइन, विकास र समृद्धिका लागि पनि सिपालु छौं, यो कुरा पुष्टि भइसकेको छ । माओवादी बिना देशको विकास हुँदैन भन्ने प्रमाणित भएको छ ।’

सबै जिल्लाका साथीहरुले चुनावमा उम्मेदवार भएर आउन आग्रह गरेको बताउदै प्रचण्डले भने, ‘पहिलोपटक काठमाडौं र रोल्पाबाट लडें, दोस्रोपटक मधेशबाट जितें । अहिले एक ठाउँबाट मात्र उम्मेदवारी दिन पाउने भएकाले चितवनबाट लड्दैछु ।’

अध्यक्ष प्रचण्डले माओवादी कर्णालीको विकासका लागि सम्वेदनशील भएको बताए । प्रचण्डले भने, ‘कर्णालीको विकासका लागि माओवादी प्रतिवद्द छ । विकास, निर्माण र जनताको जीवनमा परिवर्तन ल्याउन विशेष जोड हुनेछ । पिली पनि नेपाली जनयुद्धको एेतिहासिक ठाउँ हो । संघीय गणतन्त्रमा पुग्न पिली घटनाको महत्वपूर्ण भूमिका छ । पिलीलाई युद्द पर्यटन र संग्रहालयको विकास गर्नेछौं । साथै जनताको जीवनस्तर उकास्ने काममा प्राथमिकता दिनेछौं ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!