जुम्ला पुगेर प्रचण्डले भने, ‘कर्णाली प्रदेश माअाेवादीले बनाएकाे हाे’

जुम्ला, असोज ८ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको दवाव र सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेको बताएका छन् ।

जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी १४ वा १० प्रदेशको पक्षमा थियौं, कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खोज्दै थिए । तर, हामीले सङ्घर्ष गरेर सात प्रदेश बनायौं । कर्णालीलाई नयाँ प्रदेश बनाउनुपर्ने हाम्रो निरन्तरको दवाव र सङ्घर्षले मात्र अहिलेको ६ नम्वर प्रदेश बनेको हो ।’

‘जुम्ला र खासगरी सिन्जा उपत्यका खस भाषा र खस सभ्यताको केन्द्र हो’ अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्री भएको बेला खस भाषा र संस्कृतिको अध्ययन, अनुसन्धान र विश्व स्तरमा चिनाउने उद्धेश्यले खस भाषा, संस्कृति प्रतिष्ठान बनाउन खोजिएको थियो । काम अघि बढेको छ । तर, सोचेजति प्रगति भएको छैन । खस भाषा र संस्कृतिको उत्थान र विकासका लागि खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन मेरो पुरै पहल हुनेछ, जुम्लालाई विश्वमा चिनाउन मेरो साथ हुनेछ ।’

कर्णालीको विकास माओवादीको प्राथमिकतामा भएको भन्दै प्रचण्डले भने, ‘कर्णाली विकास आयोग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनायौं । नाग्चे लाग्ना नाका खोल्न चीनसँग कुटनीतिक पहल गरिरहेको छु । नाग्मा गम्गडी सडक कालोपत्रे गरिनेछ । कर्णालीको स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिनेछ ।’

७५० कार्यकर्ता माओवादी केन्द्र प्रवेश
कार्यक्रममा जुल्लाका लोकप्रिय नेता पूर्णप्रसाद धितालको नेतृत्वमा ७५० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

धितालले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा लडेर लोकप्रिय मतसहित दोस्रो स्थान हासिल गरेका थिए । उनको नेतृत्वमा ७५० कार्यकर्ता प्रवेशले जुम्लामा माओवादी जीतलाई सहज बनाएको छ । धिताललाई माओवादीले प्रदेश सभाको उम्मेद्वार बनाउने घोषणा समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!