भाषा संस्कृति नभए पहिचान गुम्छः प्रधानमन्त्री देउवा

न्यूयोर्क, असोज ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गरेको छ ।

नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा उनले विभिन्न अवसरका लागि विदेशमा गएका नेपाली नागरिकले आफ्नो भाषा संस्कृति जोगाउन सकेमात्र आफ्नो पहिचान रहने बताएको हो ।

प्रधानमन्त्री देउवाले विदेशमा दुःख गरेर नेपाली नागरिकले मुलुकमा पठाएको आम्दानीले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै भने– “नेपालमा लगानी र विकासका अथाह सम्भावना छन्, लगानी गर्नुस् सरकार लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार छ ।”

नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर भएको बताउँदै प्रधानमन्त्री देउवाले नेपालको नीति लगानीमैत्री भएको अवगत गराए । उनले मुलुकमा संविधानसभाबाट संविधान जारी हुनाका साथै संविधानले सबै वर्ग, क्षेत्र र लिङ्गका मौलिक अधिकार सुनिश्चित गरेको चर्चा गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपमरुपमा सफलतामा पुगेको बताउँदै विदेशमा रहेका नेपालीलाई आर्जन गरेको साधन, स्रोत र सीप लगानी मुलुकका निम्ति खर्चिन आग्रह गरे । उनले संविधानअनुसारका तीनै तहका निर्वाचन सम्पन्नपछि मुलुक अब समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महावाणिज्यदूत मधुकुमार मरासिनीले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अन्य दुई तहमा निर्वाचन सम्पन्नपछि मुलुकमा राजनीतिक स्थिरता भई समृद्धि हासिल हुने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!