राप्रपा छाडी एमालेतिर कोमल ओली

काठमाडौं, असोज ७ । प्रदेश नम्बर २ को निर्वाचनमा राप्रपाको प्रचारका लागि मधेशमा देखिएकी राप्रपा केन्द्रीय सदस्य तथा गायिका कोमल ओलीले राप्रपा छोड्ने भएकी छिन् ।

राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी ओली अब नेकपा एमालेमा प्रवेश गर्ने भएकी हुन् ।

यही सोमबार कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र रानाले पनि एमालेमा प्रवेश गर्न लागेको बुझिएको छ । उनीलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली दाङ जाने भएका छन् ।

राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् । उनले यसबीचमा एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छिन् ।

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी ओलीले पार्टीमा पाइने जिम्मेवारीका बारेमा समेत नेताहरुसँग छलफल गरेको बताइएको छ । उनी रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी छन् ।

कोमल ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन् ।

कोमल ओली र बलिभद्र रानालाई एमाले प्रवेश गराउँदा चुनाव जित्न सहज हुने देखेर एमाले त्यतातिर केन्द्रित बनेको हो ।

गायिका कोमल ओली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । राप्रपा फुटेपछि ओली कमल थापा समूहतिर थिइन् भने रेखा पशुपतिसमशेर राणा समूहमा लागेकी हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!