चार करोडको बसमा पोखरा–काठमाडौं सरर

पोखरा, असोज ७ । पर्यटकीय नगरी पोखरामा अत्याधुनिक सुविधा सहितको सुपरडिलक्स बससेवा सुरु भएको छ ।

पोखरा जगदम्बा ट्राभल्स प्रा.लि.ले बिहीबारदेखि सुरु गरेको सेवा उत्कृष्ट स्तरको भएकोे दाबी गरिएको छ ।बससेवाको पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुभारम्भ गरे ।

प्रविधिमैत्री बसको प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहेको छ । २१ सिट क्षमताको बसभित्रै रेस्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत संचालित छ ।

प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन, रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्ने छ । यात्रीको सुविधाका लागि बसका टोली खटिनेछन् ।

दुईओटा बसमा प्रतिबस करिब चार करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए ।अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको हो । बसमा यात्रा गर्न प्रतिव्यक्ति २२ सय रुपैयाँ तिर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!