९८ तहकाे नतिजा सार्वजनिक, काँग्रेस पहिलो, एमाले पाँचौ

संघीय समाजवादी फोरम दाेस्राे र माओवादी केन्द्र तेस्राे

काठमाडौं, असोज ७ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ९८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम १९, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १५ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १०, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार रौतहटको दुर्गाभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अरुण साह र उपाध्यक्षमा कांग्रेसकै मञ्जुदेवी विजयी भएका छन् । रौतहटको वृन्दावन नगरपालिकाको प्रमुखमा कांग्रेसका रामस्नेही यादव र उपप्रमुखमा पनि कांग्रेसकै नूर जहाँ विजयी भएका छन् ।

यस्तै, बाराको विश्रामपुर गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अमिरीलाल राउत र र उपाध्यक्षमा सोही पार्टीकी सुमित्रा देवी विजयी भएका छन् । महोत्तरीको भंगाहा नगरपालिकाको प्रमुखमा राजपाका सन्जीवकुमार साह र उपप्रमुखमा पनि राजपाकै गंगाकुमारीसिंह दनुवार विजयी भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुखमा कांग्रेसका विजय यादव र उपप्रमुखमा राजपाका रीता कुसहवा विजयी भएका छन् । सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा राजपाका अभय सिंह र उपप्रमुखमा पनि राजपाकै रामसखी देवी कुसहवा विजयी भएका छन् ।

 

कमेन्ट गर्नुहोस्