अछाम मेल्लेख गाँउपालिकाको पहिलो प्राथमिकता सडक

होम साउद, अछाम, असोज ७ ।  अछामको मेल्लेख गाँउपालिकाले सडकलाई मुख्य प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । एक बर्ष भित्र सबै वडामा सडक पुर्याउने लक्ष्यसहित “मेल्लेख गाउपालिकाको जोड, दुर्घटना रहित स्वच्छ वातावरणिय रोड” भन्ने नारालाई अंगिकार गर्दै बजेट पारित गरेको हो ।

पहिलो गाउसभामा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउपालिका प्रमुख लोकबहादुर बोहोराले सडकलाई उच्च प्राथमिकतामा राखी बजेट सार्वजनिक गरेका हुन ।

गाउपालिका भित्र चक्रपथ निर्माण देखी भएका सडकहरुको स्तरोन्नतीका लागि गाँउपालिका वाट पूर्वाधार तर्फको सबै बजेट ८ करोड १८ लाख रकम सडक निर्माणमा बिनियोजन गरिएको छ । कुल ३१ करोड २९ लाख ३२ हजार ९ सय बराबरको बार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाँउपालिकाले पूर्वाधार विकास र कृषि तथा पर्यटनलाई बिशेष लक्षीत गरेको जनाईएको छ ।

८ वडा रहेको गाँउपालिकामा ऋषिदहका दुई र ठाटीको वडामा सडक पुग्न बाकी छ भने अरु सबै वडामा सडक पुगीसकेको छ । सडक नपुगेका वडामा सडक पुर्याउने तथा बाँकीमा सडक स्तरोन्नती गर्नेगरी बजेट बिनियोजन गरिएको अध्यक्ष बोहराले बताए ।

गाउपालिकाले एक बर्ष भित्र सबै वडामा बिधुत पुर्याउने, पाच बर्ष भित्र गाउपालिकालाई पुर्ण सरसफाई घोषणा गर्ने, एक वडा एक उत्पादन कार्यक्रम अगि बढाईने, बिहान देखी बेलुकी छ बजे सम्म मदिरा बिक्रि तथा सेवन गर्न नपाईने नीति पनी अवलम्वन गरेको प्रमुख बोहराको भनाई छ ।

यसैविच अछामको चौरपाटी गाँउपालिकाको हालै सम्पन्न प्रथम गाँउसभाले पनी चालू आर्थिक बर्षका लागि ३० करोड ४० लाख २४ हजार ७ सय ८८ बरावरको बजेट पारित गरेको छ । गाउँसभाले पुजीगत तर्फ २० करोड ३१ लाख २ हजार, चालु तर्फ ४ करोड ५३ लाख ५० हजार तथा र ससर्त अनुदान तर्फ ९ करोड २५ लाख ८६ हजार बजेट पारित गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!