१ मतले माओवादी उम्मेदवार हारेपछि…

रौतहट, असोज ५ – गरुडा नगरपालिका वडा नम्बर ३ मा कांग्रेसका उम्मेदवार एक मत अन्तरले विजयी भएको विषयलाई लिएर माओवादी केन्द्रले बुधबार बिहानदेखि अवरोध गरेको मतगणना अझै शुरु हुन सकेको छैन । निर्वाचन अधिकृत नविनकुमार जोशी मतगणना स्थल छाडेर वेपत्ता भएका छन् ।

वडा नम्वर ३ मा कांग्रेसका कृष्णकुमार सहनीले एक मत अन्तरबाट माओवादी केन्द्रकी शैलदेवी सहनीलाई हराएपछि माओवादीले धाँधली भएको आरोप लगाएको थियो ।

माओवादीले पुनः मतगणना गर्नुपर्ने माग राख्दै बुधबार बिहान ५ बजेदेखि अवरुद्ध गरेको मतगणना अझै शुरु हुन नसकेको हो । मतगणना नहुँदा निर्वाचन अधिकृत बेलुकादेखि वेपत्ता भएको सूचना प्राप्त भएको छ ।

निर्वाचन अधिकृत जोशी सम्पर्कविहीन भएपछि मतगणना स्थलमा प्रहरी मात्रै उपस्थित छन् । यसबारेमा मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले विवाद मिलाउने प्रयास भइरहेको तथा निर्वाचन अधिकृत वेपत्ता भएको आफूलाई कुनै जानकारी प्राप्त नभएको र उहाँ नहुँदा सहायक कर्मचारीबाट मतगणना गराउने बताउनुभयो ।

यस्तै कटहरिया नगरपालिका वडा नम्वर ३ विर्ती प्रस्टोका मतदान केन्द्रमा मतखसेको संख्या भन्दा ९३ मतपत्र बाकसबाट निस्कँदा नेपाली कांग्रेसले धाँधली भएको भन्दै बिहीबार दिउँसो ३ बजेबाट मतगणना कार्य अवरुद्ध गरेको छ ।

निर्वाचन अधिकृत विमल थापाले उक्त मतदान केन्द्रमा जम्मा खसेको मतको लगत नहुँदा कसरी बढी खसेको भन्दै विवाद मिलाउने प्रयास गर्दासमेत अझै मतगणना शुरु हुन सकेको छैन ।

उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!