लहानमा एमालेलाई जिताउन निर्वाचन अधिकृतले धाँधली गरेको आरोप, मतगणना स्थगित

सिरहा, पहिलो र दोश्रो चरणमा निर्वाचन अधिकृतले आफू समर्थक दलहरुलाई विजयी गराउन भूमिका खेलेको भन्दै व्यापक बिरोध भएको पृष्ठभूमिमा तेश्रो चरणमा समेत निर्वाचनमा खटिएका कर्मचारीलाई हटाउन माग गरिएको छ ।

यसै विषयलाई लिएर विवाद भएपछि सिरहाको लहान नगरपालिकामा मतगणना स्थगित गरिएको छ ।

चितवन महानगरपालिकाको वडा नं. ४ मा एमालेका पक्षमा खसेका मत भन्दा बढी मत तथ्यांक राख्ने कर्मचारीले कम्प्युटरमा राखेको भन्दै पहिलोपटक विवाद सिर्जना भएको थियो ।

तेश्रो चरणको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन निर्वाचन अधिकृतले धाँधली गरेको आरोप नेपाली कांग्रेसले लगाएपछि विवाद सिर्जना भएको छ ।

सिराहाको लहान नगरपालिकामा कांग्रेसका नगर सभापति सुनिल कुमार महतोलाई प्रहरी अधिकारीले दुर्व्यवहार गरेको भन्दै मतगणना रोकिएको छ । मतदान सम्पन्न भएका वडाहरुका विजयी उम्मेदवारको घोषणा ढिलो गरेपछि छलफलका लागि मतगणनास्थल पुगेका महतोलाई प्रहरी नायव उपरीक्षक हिरा बहादुर पाण्डेले दुर्व्यवहार गर्दै मतगणनास्थालबाट निकालेको भन्दै कांग्रेस, समाजवादी फोरम र राप्रपाका प्रतिनिधिहरु विरोध गरेको कान्तिपुरले जनाएको छ ।

कांग्रेस पुनः मतगणना गर्नुपर्ने र नेकपा एमाले मतपरिणाम घोषणा गर्नुपर्ने अडानमा कायमै रहेपछि दिउँसो ३ः०० बजेदेखि मतगणना रोकिएको दलका प्रतिनिधिले बताएका छन् । विवाद भएपछि एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलाएको छ ।

यसअघि, मंगलबार लहान नगरपालिका ३ नम्बर वडाको मतगणनाप्रति असन्तुष्टि जनाउँदै पुनः मतगणना गर्नुपर्ने माग संघीय समाजवादी फोरम नेपालले अघि सारेपछि मतगणना अवरुद्ध भएको थियो ।

दलसँग सहमति भएपछि बुधबार बिहानदेखि पुनः मतगणना सुरु भएको थियो ।

वडा नम्बर–५ को मतपरिणाम घोषणा नहुन्जेलसम्म आफ्नो प्रतिनिधि नपठाउने एमालेका नेताले बताएका छन् । उजुरीपछि ४ र ६ नम्बरको मतगनणासमेत रोकिएको छ । एमाले कार्यकर्ताले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

प्रहरी उपरीक्षक पाण्डे विरुद्ध ति दलका कार्यकर्ताहरुले मतगणनास्थल भित्रै नारावाजी गरेका छन् । कांग्रेस लहान नगर समितिले पाण्डेलाई मतगणनास्थलबाट नहटाएसम्म मतगणनामा भाग नलिने जनाएको छ ।

नेकपा एमालेले उक्त वडाको निर्वाचन परिणाम घोषणा गर्न दबाब दिएको छ भने कांग्रेसलगायतका दलले पुनगणनाको माग गरेका छन् ।

File Photo

कमेन्ट गर्नुहोस्

error: Content is protected !!