एनसेल कमायाे पछिल्लाे तीन महिनामा ३५ प्रतिशत नाफा

काठमाडौं, असोज ४ । दोस्रो त्रैमासिकमा एनसेलको खुद मुनाफा ३५ प्रतिशतले बढेको छ ।

सन् २०१७ को दोस्रो त्रैमासमा कम्पनीले उल्लेखनीय नाफा वृद्धि गरेको मातृकम्पनी आजियाटाको तथ्यांकमा उल्लेख छ ।

आजियाटाले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार ३० जुन २०१७ सम्म एनसेलले ३ दशमलव ९ प्रतिशत सञ्चालन आम्दानी वृद्धि गरेको छ । त्यस्तै, कम्पनीले ३ दशमलव ५ प्रतिशत सञ्चालन मुनाफा बढाएको छ ।

सन् २०१७ को दोस्रो त्रैमासिकमा एनसेलको डाटा खपत ११ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । १ जुन २०१७ मा एनसेलले सुरु गरेको फोरजी सेवा तथा विभिन्न अफरले कम्पनीको आम्दानीमा सकारात्मक असर परेको एनसेलले जनाएको छ ।

अन्तर्राष्ट्रिय लामो दूरीको कल सेवाबापतको आम्दानी घटे पनि फोरजी सेवाको सुरुवात र विभिन्न नयाँ अफरले दोस्रो त्रैमासिकको मुनाफामा वृद्धि भएको हो । आजियाटाअन्तर्गत एनसेलजस्तै अन्य विभिन्न देशमा दूरसञ्चार कम्पनी सञ्चालनमा छन् । मातृकम्पनी आजियाटाको पनि डाटा खपतबाट आम्दानी बढाउन एनसेल निकै सहयोगी बनेको छ । कम्पनीले सन् २०१६ मा सेवाबापतको आम्दानीमध्ये ३१ दशमलव ७ प्रतिशत डेटाको हिस्सा रहेकोमा सन् २०१७ मा बढेर ४२ दशमलव ६ प्रतिशत पुगेको छ ।

आजियाटाको मुनाफा वृद्धिमा एक नम्बरमा एनसेल

२०१७ को दोस्रो त्रैमासिकसम्म समग्रमा एनसेलको प्यारेन्ट कम्पनी आजियाटा समूहको नाफा १५ दशमलव ७ प्रतिशतले वृद्धि भएर २ खर्ब ९१ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ । सन् २०१६ को सोही अवधिसम्म आजियाटाको आम्दानी २ खर्ब ५१ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

ग्रुपको आम्दानीमा बढोत्तरी हुनुमा मलेसियाबाहेक मुलुकमा रहेका मुख्य कम्पनीको योगदान रहेको आजियाटाको वित्तीय प्रतिवेदनमा उल्लेख छ । समूहको सञ्चालन मुनाफा १२ दशमलव ४ प्रतिशतले वृद्धि हुनुमा मुख्यतः एनसेलको योगदान सबैभन्दा महत्वपुर्ण रहेको आजियाटाले जनाएको छ । –नयाँ पत्रकिाबाट

कमेन्ट गर्नुहोस्