बृन्दावनमा मतगणना सुचारु, कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्ताको टाउको फुटाले

रौतहट, बृन्दावनमा अवरुद्ध मतगणना सुचारु भएको छ । यसअघि नेपाली काँग्रेसका कार्यकर्ताले मतगणनास्थलमै एमालेका उम्मेदवारसहित दुई जनालाई आक्रमण गरी घाइते बनाएका थिए ।

मतगणना भइरहेको अवस्थामा एमाले सांसद रामकुमार भट्टराई पुगेपछि विवाद सिर्जना भएको थियो । काँग्रेस कार्यकर्ताले मतगणनास्थलमा जान नपाउने भन्दै अवरोध गरेपछि दुवै पक्षबीच विवाद भएको थियो। तोकिएका व्यक्तिबाहेक अरु कसैलाई मतगणनास्थलमा जान नमिल्ने कांग्रेस कार्यकर्ताको अडानको एमाले कार्यकर्ताले बिरोध भएपछि हातपात शुरु भएको थियो ।

विवादपछि झडप हुँदा काँग्रेस कार्यकर्ताको कुटाईबाट एमाले वृन्दावन नगरपालिका वडा नं। ६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचार भइरहेको छ।

विवादपछि झडप हुँदा काँग्रेस कार्यकर्ताको कुटाईबाट एमाले वृन्दावन नगरपालिका वडा नं। ६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचार भइरहेको छ।

मत गणनास्थल बाहिर होहल्ला भएपछि मतगणना गरिरहेका काँग्रेस एमालेका प्रतिनिधि बाहिर आएका थिए। बुथ प्रतिनिधिले मतगणनास्थ छोडेर बाहिर आउँदा केहीबेर मतगणना कार्य रोकिएको वृन्दावन नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले नागरिकन्युजलाई बताए।

‘म आफ्ना उम्मेदवारलाई भेट्न जाँदा काँग्रेस कार्यकर्ताले अवरोध गरी आक्रमण गरेका दुई जना कार्यकर्ताको टाउको फुटाइदिएका छन्’, सांसद भट्टराईले भने। उम्मेदवार पटेल र सुनिललाई कुट्न थालेपछि प्रहरीले सांसद भट्टराईलाई सुरक्षित स्थानमा लगेर जोगाएको थियो।

निर्वाचन अधिकृत उपाध्याय घिमिरेले मतगणना बाहिर होहल्ला हुँदा अवरुद्ध भएको मतगणना अहिले सुचारु भइसकेको बताए।

काँग्रेसका जिल्ला सभापति रामकृष्ण यादबले मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधि जानुपर्नेमा सांसद आफैँ जान खोज्दा आफ्ना कार्यकर्ताले अवरोध गरेको बताए। ‘हाम्रा कार्यकर्तामाथि प्रहरी लगाएर लाठी चार्ज गराउने काम भयो। दुई कार्यकर्ता घाइते छन्’, उनले भने।

 

कमेन्ट गर्नुहोस्