प्रदेश २ को चुनावमा कुन नेताहरुले कहाँबाट भोट खसाले ?

काठमाडौ, असोज २ । स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत तराईका आठ जिल्लामा चुनाव भइरहेको छ । आज विहान ७ बजेदेखि सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म जारी रहनेछ । आठ वटा जिल्लाका एक सय ३६ वटा स्थानीयतहमा आज मतदान कार्य भइरहेको छ । प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहेको छ ।

प्रदेश नम्बर २ का ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो चरणको चुनाव सम्पन्न भएसँगै संविधानअनुसार देशभर स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले गर्नेछन् ।

निर्वाचनमा कुने नेताले कहाँबाट मतदान गरे ?

माधव कुमार नेपाल : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल मतदान गर्न गौरको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी बिहानै मतदान गर्न आफ्नो केन्द्र पुगेका थिए । नेता नेपालले राम जानकी कन्या प्राथमिक बिद्यालय गौरबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन्।

प्रमुख निर्वाचन अयोधि प्रसाद यादव : निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले बिहान ७ः०० बजे मतदान गरेका छन् । उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरेका हुन् ।

राजेन्द्र महतो : राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले गृहजिल्ला सर्लाहीबाट भोट खसालेका छन् । श्री दुर्गा खोभारी जनता उच्च माविबाट मतदान गरेका छन् । बिहान करिव साढे सात बजे महतोले चन्द्रनगर गाउँपालिका वडा नं. २ स्थित निर्वाचन बुथ केन्द्रबाट मतदान गरेका हुन् ।
राजपा नेपालका महासचिव मनीषकुमार सुमनले पनि सप्तरीबाट मतदान गरेका छन् । सुमनले राजविराजमा मतदान गरेका हुन् ।

विमलेन्द्र निधि : पूर्व गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरको राजेश्वर निधि उच्च मावि केन्द्रबाट मतदान गरेका छन् । केन्द्रमा पुगी विहान ८ बजे उनले मतदान गरेका हुन् । मतदानपछि उनले लामो समयपछि स्थानीय चुनामा मतदान गर्न पाउँदा खुसी भएको बताए ।

मातृका प्रसाद यादव : माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले धनुषाबाट मतदान गरेका छन् । जिल्लाको सबैलास्थित मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

शरतसिंह भण्डारी : राजपाका नेता शरतसिंह भण्डारीले महोत्तरीको औरहीबाट मतदान गरेका छन् । उनले औरही नगरपालिकाको औरही मावि केन्द्रबाट मतदान गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!