विश्वविद्यालय कार्यालय दाङमा, काम काठमाडौंबाट

काठमाडौं, असोज २ । बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय प्रायः सुनसान हुन्छ । विश्वविद्यालयका महत्वपूर्ण शाखा राजधानीस्थित सम्पर्क कार्यालयबाटै सञ्चालन हुन्छन् । केन्द्रीय कार्यालयमा पदाधिकारी र उच्च पदस्थ कर्मचारी भेट्न मुस्किल हुन्छ ।

केही दिनअघि विश्वविद्यालयको काठमाडौंमा सम्पन्न सभाले कर्मचारी सञ्चय कोषलाई उतैबाट सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालय कर्मचारी कोषको रकम काठमाडौंबाटै नागरिक लगानी कोषमा जम्मा गर्ने विषयलाई विश्वविद्यालय सभाले नै पारित गरेको छ ।

यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा, अनुसन्धान शाखा, सांस्कृतिक अध्ययन केन्द्रसमेत काठमाडौं सारिएको थियो ।

यद्यपि कर्मचारी सञ्चय कोष राजधानीमा सारिएको विषयलाई विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. रमेशकुमार ढकालले अस्विकार गरे ।

‘हामीले पहल गरिरहेका छौँ, सकभर दाङबाट नै विश्वविद्यालयको कर्मचारी सञ्चय कोष सञ्चालनमा आउनेछ,’ उनले भने । यसअघि पनि विश्वविद्यालयका पदाधिकारीले अन्य शाखा कार्यालय सार्दा स्विकार्न आनाकानी गर्थे ।

दाङका भवन खाली, राजधानीमा भाडा
विश्वविद्यालय स्थापनाका लागि दाताहरूले दाङमा १६ सय बिघा जग्गा दान गरेका थिए । अहिले विश्वविद्यालयका लागि पर्याप्त भवन निर्माण भएका छन् । उता विश्वविद्यालयको काठमाडांै वसन्तपुरमा रहेको भवनसमेत ०७२ सालमा आएको भूकम्पका कारण काम गर्न नमिल्ने अवस्थामा छ ।

दाङमा रहेका भवनका कोठा रित्तै छन् । शाखाहरू काठमाडाैँ सारिएपछि कर्मचारी भेटिनसमेत मुस्किल पर्न थालेको छ । काठमाडौंमा भने मासिक रूपमा एक लाख भाडा तिरेर महाशाखाका कार्यालय सञ्चालन भइरहेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले केन्द्रीय कार्यालय दाङमै रहेको अवस्थामा महत्वपूर्ण शाखा पनि दाङमै राखिनुपर्ने बताए । ‘विश्वविद्यालय सञ्चालनका लागि सहयोग गर्न हामी तत्पर छौँ,’ उनले भने ‘आफ्नो स्वार्थपूर्तिका लागि विश्विद्यालयको केन्द्रीय कार्यालयलाई नै कमजोर बनाउन कसैले पाउँदैन ।’

तीन क्याम्पस थपिए
नेपाल संस्कृत विश्वविद्यालयमा तीनवटा आंगिक क्याम्पस थपिने भएका छन् । विश्वविद्यालय सभाले तीनवटा क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

हाल संस्कृत विश्वविद्यालयले १४ वटा आंगिक क्याम्पस सञ्चालन गरिरहेको छ । अब कैलालीघाट तनहुँ, मणिग्राम रूपन्देही र परशुराम विद्यापीठलाई आंगिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय भएको छ । तीनवटा क्याम्पस सञ्चालनका लागि वार्षिक सात करोड ५० लाख खर्च लाग्ने बताइएको छ ।

स्नातकलाई चारवर्षे बनाइयो
आर्थिक वर्ष ०७५/७६ बाट शास्त्री (स्नातक) तह चारवर्षे हुने भएको छ । चार वर्षका लागि पाठ्यपुस्तक तयार गर्न थालिएको शिक्षाध्यक्ष रमेश ढकालले बताए । त्यसैगरी, उत्तरमध्यमा तह र शास्त्री तह भर्नाका लागि भाषा प्रशिक्षण गर्नु नपर्ने भएको छ ।

त्यस्ता विद्यार्थीलाई वेद, व्याकरण, न्याय र सिद्वान्त ज्योतिष पढ्नका लागि अतिरिक्त तीन सय पुर्णांक थप पाठ्यभार रहनेछ । तीबाहेक अन्य विषय पढ्नका लागि दुई सय पूर्णांकको पाठ्यभार कायम गरिएको छ । अब विदेशी विद्यार्थीहरूले समेत प्लट टु अध्ययनपछि सीधै शास्त्री अर्थात् स्नातक तहमा अध्ययन गर्न पाउनेछन् ।

विश्वविद्यालयमा रहेको आइएलाई हटाउने तयारी पनि थालिएको छ । देशभरका संस्कृत विद्यापीठलाई नौदेखि १२ सम्ममा संस्कृत विषयको शिक्षक दरबन्दीका लागि अर्थमन्त्रालय, शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गरेर अघि बढिने भएको छ ।

विद्यार्थीको संख्या कम भए नेपालभर रहेका ४० बढी गुरुकुलमा समेत शिक्षक दरबन्दीको व्यवस्थाका लागि प्रक्रिया अघि बढाउन लागेको शिक्षाध्यक्ष ढकालले बताए । आयुर्वेद स्नातक तह कक्षा सञ्चालन गरिरहेको संस्कृत विश्वविद्यालयले अब प्राकृतिक चिकित्सा कार्यक्रमसमेत सञ्चालन गर्ने विश्वविद्यालय सभाले निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!