राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको रक्षा पहिलो प्राथमिकता : कमल थापा

काठमाडौं, असोज २ ।  राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको रक्षा अहिलेको पहिलो प्राथमिकता भएको बताएका छन् ।

मकवानपुर बाग्मती गाउँ पालिकाको फापरबारीमा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सत्तारुढ दलको अकर्मण्यता, सत्तालिप्सा र गलत मार्गचित्रका कारण मुलुक अस्थिर र संकटको दलदलमा फसेको आरोप लगाए ।

राष्ट्रवादी शक्तिलाई घेराबन्दी गरी कमजोर बनाउने षड्यन्त्रलाई सचेत जनताले असफल पार्ने उनको दाबी थियो । आन्दोलन र क्रान्ति देश र जनताको पक्षमा हुन नसकेको सत्ताको भर्यारङ मात्र भएकोमा उनको तीब्र रोष थियो ।

निर्वाचनमा पैसा लगानी गर्ने, जित्ने र त्यो पैसा उठाउन भ्रष्टाचार गर्ने चक्र चलेको भन्दै यो चक्रलाई तोड्न आवश्यक रहेको उनले जिकिर गरे । उनले राप्रपाको पार्टी जीवनमा धेरै उतारचढाव आएको चर्चा गर्दै कार्यकर्ताहरुलाई चिन्तित, बिचलित र निराश नहुन ढाडस दिए ।

थापाले थपे, ‘हो हामीले स्थानीय निर्वाचनमा असफलता भोग्यौँ, तर हामी सकिएका छैनौँ । ठेस लागेर लडेका हौँ, कहिल्यै उठ्न नसक्ने गरी घाइते भएका छैनौँ । हामी फेरि उठ्छौ, हिंड्छौँ र जित्छौँ ।’ मुलुकलाई संकटबाट मुक्त गर्न, राष्ट्रियता बलियो बनाउन र मुलुकको समग्र आर्थिक विकासको निमित्त जनताले राप्रपालाई रोज्नु पर्ने आवश्यकता समेत औँल्याए ।

 

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हाबी भएको र विदेशी आशिर्वाद बिना सत्तामा पुग्न र टिक्न सकिन्न भन्ने मानसिकताको अन्त्य जरुरी भएकाले जनताले स्वाभीमानलाई केन्द्रमा राख्दै विवेक पुर्याएर निर्णय गर्नुपर्ने समय आयको विचार व्यक्त गरे ।

गाउँपालिका समितिका अध्यक्ष दिलबहादुर बलको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपकबहादुर सिंह, सहायक महामन्त्री राजाराम बर्तौला र जिल्ला अध्यक्ष गणेश थापालगायतले बोलेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेकालाई अध्यक्ष कमल थापाले सदस्यतासमेत प्रदान गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!