पर्वतको दुर्लुङमा छाँगावरोहण खेल सञ्चालन हुँदै

पर्वत, असोज १ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभीर झरनामा सञ्चालन हुने भएको छ ।

जिल्लाकै मनोरम खोला र बाह्रैमास एकैकिसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलो पटक क्यानोनिङको तयारी गरिएको सञ्चालक उद्धिमबहादुर गुरुङले जानकारी दिए ।

क्यानोनिङका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भइसकेको र दशैँलगत्तै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै सात किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ ।

स्थानीय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिने गुरुङले जानकारी दिए । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ । कुश्मा बजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ ।

यहाँ गुरुङ समुदायमा रहेको होमस्टेमा अर्गानिक खाना, दिउँसोमा क्यानोनिङलगायत उक्त क्षेत्रमा रहेका वनजंगल, जडीबुटी र वन्यजन्तु शिकारलगायतका प्याकेज कार्यक्रम बनाउनेसमेत तयारी भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!