विषाक्त खाना खाँदा १७० बालबालिका विरामी

नयाँदिल्ली,असोज १ । भारतको उडिसा राज्यका तीनवटा विद्यालयमा विषाक्त खानाका कारण १ सय ७० भन्दा बढी बालबालिका विरामी भएका छन्। झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महसुस गरेका थिए।

बिहानको खाजा खानेबित्तिकै उनीहरू विरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पछाडि परेका र निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाहरूले अध्ययन गर्दै आइरहेका थिए। बिहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाहरूले बताएको सरकारी अधिकारीले बताए।

उनले भने, ‘विरामी भएका बालबालिकाहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ।’ स्थानीय सञ्चारमाध्यमहरूले बालबालिकाका लागि ल्याइएको चामलको प्याकेटमै खराबी रहेको बताएका छन्। गत चौबीस घण्टाको अवधिमा विषाक्त खानाका कारण विरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। बिहीबार मात्रै कालाहाँडी र गाजापाटी जिल्लामा दिउँसोको खाना खाएपछि १ सय २० जनाभन्दा बढी विद्यार्थी विरामी भएका थिए।

‘त्यस विद्यालयका विरामी विद्यार्थीहरूलाई पनि अहिले अस्पतालमा उपचार गराइएको छ’, एक अधिकारीले भने। विगत केही वर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ। भोकमरी र कुपोषण न्यूनीकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो। सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा विरामी भएकामध्ये २२ जना बालबालिकाको मृत्यु भएको थियो।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!