ढुक्क भएर भोट हाल्न सकिने गृहमन्त्रालयको दावी

काठमाडौं, भदौ ३१ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

सुरक्षा व्यवस्थामा कहीँकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै सुवेदीले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको टिप्पणी बताए ।

प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिए । आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उनको भनाइ छ ।

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ ।

राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ । विशेषतः २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ ।
प्रवक्ता सुवेदीले कुनै पक्षबाट सुरक्षा चुनौती नरहेको टिप्पणी गरे ।

प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!