जापानको सहयोगले भारतमा ‘बुलेट ट्रेन’ चल्ने

भारत, भदौ २९ । पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा दु्रत गतिको रेल सेवा सन्चालन हुने भएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ ।

‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बइसम्म चल्ने बताइएको छ ।

पाँच सय किलोमिटर लामो दुरीमा सन्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो ।

यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो ।

जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा छन् । उनीहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो ।

भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । रासस

कमेन्ट गर्नुहोस्