दलहरुले आचारसंहिता पालना नगरे कडा कारवाही गरिने : आयोग

काठमाडौं, भदौ २९ । निर्वाचनका बेला विभिन्न राजनीतिक दलहरुले आचार
संहिताको पालना नगरेकोमा अब मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा पनि त्यस्तो पाइए दोषीलाई कडा कारवाही गरिने निर्वाचन आयोगका प्रमुख अयोधिप्रसाद यादवले बताए ।

आयोगले बिहीबार राजधानीमा मंसिरमा हुने निर्वाचनका लागि निर्वाचनको खर्च र आचारसंहिताबारे राजनीतिक दलहरुसँग छलफल गरेको हो । सोही क्रममा निर्वाचन आयोगले राजनीतिक दललाई प्रतिनिधसभाका लागि १४ लाख रुपैयाँ र प्रदेशसभाका लागि सात लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव गरेको छ । आयोगको प्रस्तावमाथि दलका नेताहरुले सुझाव दिएका छन् ।

निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता कार्यान्वयन र पालना गर्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदै उल्लंघन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा उपस्थित दलका प्रतिनिधिहरुले पनि मंसिरमा हुने निर्वाचनलाई अनावश्यक तडक–भडक र अनावश्यक खर्च रोक्न आयोगले नै पहल गर्नुपर्ने बताएका छन् । दलहरुले आचार संहिता उल्लंघन गर्नेलाई कारवाही गर्नुपर्नेमा साथ दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!