कुलमानले भने, ‘लोडसेडिङ कुनै पनि हालतमा हुँदैन’

काठमाडौं, भदौ २९ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हटाउने काम सफल हुन थालेकोले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने बताएका छन् ।

प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको एक बर्ष पूरा भएकोमा वार्षिक काम सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा घिसिङले लोडसेडिङको अन्त्य गर्न सफल भएको र अब दीर्घकालिन महत्वका आयोजनामा ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनले आगामी २ वर्षभित्रै देश विद्युतमा आत्मनिर्भर हुने भएकाले देशभित्र आउँदो १० बर्षमा १२ हजार मेघावाट विजुली खपत हुने र विदेशमा विजुली बेच्नेतर्फ आफनो ध्यान केन्द्रित हुने बताए ।

केही व्यक्तिको लागि असम्भव रहेको लोडसेडिङ अन्त्यको काम आफूले कुशल व्यावस्थापनबाट सम्पन्न गरेको भन्दै निर्देशक घिसिङले अब ५ सय मेगावाट भन्दा ठूला आयोजना र पूर्व पश्चिम तथा उत्तर दक्षिण जोड्ने ४ सय केभी क्षमताका प्रशारण लाइन निर्माणमा लाग्ने पनि बताए ।

आर्थिक बर्ष २०७२÷७३ मा प्राधिकरण ३ अर्व ६ करोड नोक्सानीमा गएकोमा गएको बर्ष २ अर्व ४० करोड नाफा कमाउन सफल भएको भन्दै कार्यकारी निर्देशक घिसिङले यो आर्थिक बर्षमा प्राधिकरणको खुद नोक्सान पनि ९७ करोडबाट शुन्यमा झार्न सकिने दावी गरे ।

आफ्नो कार्यकालमा विद्युत चुहावट नियन्त्रण, महसुल बक्यौता असुलीमा बृद्धि, निर्मार्णाधीन आयोजनाको प्रगती बढेको, ट्रान्सफर्मर र टावर बनाउन छुट्टै विभाग बनाइएको, विद्युत व्यापार कम्पनीको स्थापना, देशका विभिन्न ठाउँमा नयाँ प्रशारण लाइनको निर्माण र पुरानाको मर्मत, उपभोक्तालाई छिटो छरितो सेवा लगायतका काम भएका बताए ।

उनले आउँदो हिउँदमा पोहोरको भन्दा पनि राम्रो अवस्थामा विद्युत प्रवाह गर्ने भएकाले लोडसेडिङ नहुने बताए । विद्युत चुहावट पनि घटेको र पश्चिममा ३० मेघावाटको चमेलिया जलविद्युत आयोजना पनि हिउँद अगाडि नै सम्पन्न हुने भन्दै पूर्वमा आवश्यक परेमा भारतबाट ल्याउन प्रशारणलाईन तयारी अवस्थामा रहेको भन्दै अब लोडसेडिङको अन्त्य हुने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!