मधेसविरोधी एमालेलाई चुनावबाटै पाखा लगाउनुपर्छ : प्रधानमन्त्री देउवा

धनुषा, भदौ २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसीहरुको समस्या बुझ्ने तथा समाधान गर्ने नेपाली कांग्रेस मात्रै भएकाले एमालेलाई जनताले चुनावमार्फत पाखा लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसले बुधबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले नेपाली कांग्रेस मधेशको हरेक समस्याको समाधान गरेर मधेशी जनताको भावनाको कदर गर्ने पक्षमा रहेको बताएका छन् ।

नेपाली कांग्रेस संविधान संशोधनका लागि प्रयत्नशील रहेको बताउँदै प्रधानमन्त्री देउवाले पार्टीसँग स्पष्ट बहुमत नहुँदा त्यो सफल हुन नसकेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीलाई संशोधनका विषयमा पटक पटक आग्रह गर्दासमेत अटेर गरेर एमाले विपक्षमा उभिँदा मधेशका समस्या समाधान हुन नसकेको टिप्पणी गरे ।

एमाले मधेश विरोधी र विखण्डनवादी शक्ति भएकाले जनताले अब चुनावबाटै पाखा लगाउनुपर्ने देउवाले बताए ।

प्रधानमन्त्री देउवाले नेपाल भारत मिलेर मात्र डुवानको समस्या समाधान हुने र त्यसका लागि पनि प्रयास जारी रहेको उनले बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा आएको परिवर्तनको रक्षाको लागि जनताले कांग्रेसलाई जिताउनु पर्ने विचार व्यक्त गरेका छन् ।

कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोइराला, कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, पूर्व गृहमन्त्री विमलेन्द्र निधि, सीतादेवी यादव, कृषि मन्त्री रामकृष्ण यादव, खानेपानी मन्त्री महेन्द्रप्रसाद यादवलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!