एक्कासी दुई सय जना चालकले बिदा लिँदा एक सय उडान प्रभावित

जर्मनी, भदौ २८ । जर्मनीको टाँट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकैपटक बिरामी परेको भनी हिजो मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान प्रभावित बनेका छन् ।

चालकहरूले छोटो समयमा सूचना दिई विदा बसेकाले एटलान्टिक समुद्रपार गरेर जानेसमेत गरी १०० उडान रद्द भएका कारण जर्मनीका कैयौँ विमानस्थलमा यात्रुसमेत अलपत्र परेका थिए ।

विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले कमजोर अवस्थामा चलिरहेको विमान कम्पनीका उडान नै रद्द गर्नुपर्ने गरी एकै पटक चालक विदा बस्नुलाई ‘आगोसँग खेलेको सज्ञा दिँदै भने, ‘चालकले कम्पनीलाई असहयोग गर्दा कैयौँ लाख अमेरिकी डलर बराबर आर्थिक घाटा व्यहोर्नुपरेको बताए ।”

यस घटनाले विमान कम्पनीको ख्यातिमाथि समेत प्रभाव परेको उनले बताए ।
उनले थपे– “यसरी हामीले केही मात्र कर्मचारी तथा चालक दलका सदस्यलाई रोजगारीको सुरक्षा गर्न सकिने हुन्छ ।”

चालक दलले आफ्ना माग पूरा गर्न वार्ताको विकल्प नभएको र सफल वार्ताका लागि उडानलाई नियमित गर्नुपर्ने पूर्वशर्त कम्पनीको रहने बताए ।

जर्मन सञ्चारमाध्यमले विमान कम्पनीलाई नयाँ व्यक्तिले लिएको र विमान कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारी तथा चालकहरूले दवाव दिएपछि केही समयदेखि कम्पनीमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन् ।

एअर बर्लिनले कम्पनी बर्षौदेखि घाटामा गएको र गत महिनादेखि कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार विमान कम्पनी इतिहादले कम्पनीबाट खर्च दिन रोकेपछि कर्मचारीको तलबसमेत दिइएको छैन ।

एअर बर्लिनको स्वामित्व हस्तान्तरणका लागि यही शुक्रबारसम्मका लागि आवेदन गरिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्