केसी सर ब्लडमनिको हिशाब खोई ?

साउदी अरब । मध्यपूर्व एसियाका विशेष गरेर खाडी मुलुकमा काम गर्न आउने नेपालीहरुको आफूलाई मसिहा ठान्ने धरम केसीले रामचन्द्र तिमिल्सिना बचाऊ अभियानमा संकलित रकम समेत खाएको खुलासा भएको छ ।
पत्रकार महेश श्रेष्ठले गरेको अनुसंधान अनुसार गैर आवासीय नेपाली संघको तर्फबाट अन्तर्राष्ट्रिय सहजकर्ता संयोजक बनेका केसीले रामचन्द्र तिमिल्सिना बचाऊ अभियानका लागि रियाद बैंकको खाता नं। ३०९०३४२१८९९४० मा जम्मा गरिएको रकमको कुनै हिशाब नदेखाई खाएको खुलासा भएको हो । सो कुराको पुष्टि त्यसबेला रियादमा भएको बैठकमा उनले हिशाब सार्वजनिक नगरेबाट भएको हो ।
अगस्त १९, २०१६ मा नेपाली राजदुतावास रियादमा तत्कालिन कार्यबाहक राजदुत आनन्द शर्माको रोहबरमा संकलित रकम सार्वजनिक गर्दा नारायण पासवानले २० हजार, रमेश भण्डारीले १६ हजार आठ सय ६३, डमर कुमार यादवले १६ चार सय सात र उमेश भट्टराईले १७ हजार सहित कुल जम्मा ७० हजार दुई सय ७० साउदी रियाल मात्रैको हिशाब देखाईएको थियो । सो बैठकमा रामचन््द्र तिमिल्सिना बचाऊ अभियानका अन्तर्राष्ट्रिय सहजकर्ता संयोजक एवं अन्तर्राष्ट्रिय गैर आवासीय संघका वैदेशिक रोजगार तथा कामदार कल्याण समितिका संयोजकको हैसियतबाट उपस्थित केसीकै संयोजकत्वमा उद्धार कोष स्थापना र संचालन गर्ने निर्णय गरिएको थियो ।
रामचन्द्र तिमिल्सिनाका लागि ब्लडमनी परिवारले परराष्ट्र मन्त्रालयमा जम्मा गरिदिईसकेको सूचना कार्यबाहक राजदुत शर्माले स्पष्ट पारेपछि त्यसबेला कोष स्थापना गर्ने निर्णय भएको थियो । अन्तर्राष्ट्रिय सहजकर्ता संयोजकको हैसियतमा उनले सार्वजनिक गरेको बैंक खातामा के कति रकम जम्मा भएको थियो कसैले पत्तो पनि पाएनन् ।

जबकी रियादमा बैठक बस्न ८ दिनअघि नै कतारको गोरखा सेवा समाजले मात्रै एक हजार तीन सय ९७ कतारी रियाल संयोजक केसीको बैंक खातामा पठाएको थियो । समाजका ३९ जनाबाट रकम संकलन गरेर सुदर्शन भट्टले कतारको अल जजिरा एक्सचेन्ज मार्फत केसीको बै‌ंक खातामा ११ अगस्त २०१६ को विहान ९ः४९ मा पठाइदिएको रेफ न‍ं ००२११०८१६००१६९ को भौचरबाट प्रष्ट हुन्छ । गोरखा सेवा समाज कतारले पठाए जसरी अन्य कतिले पठाए विस्तारै खुल्ने क्रममा छन् ।

अन्तर्राष्ट्रिय गैर आवासिय नेपाली संघको आव्हानमा विशेष गरेर खाडी मुलुकमा ब्लडमनीका लागि सहयोग रकम संकलन गरिएको थियो । त्यसबेला ईजरायल, युएई, कुवैत, कतार, ओमन लगायत मुलुकले विशेष अभियान नै संचालन गरेका थिए ।

तिमिल्सिनाले चलाएको गाडीबाट सडक दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको र सो वापत ब्लडमनी नतिरे मृत्युदण्ड हुने अदालतले घोषणा गरेकोमा तिमिल्सिनाको परिवारले ज्यान बचाई दिन सबैसंग गुहार मागेका थिए ।
त्यसैक्रममा रामचन्द्र तिमिल्सिना बचाऊ अभियान समिति अन्तर्गत त्यसबेला उठेको रकम चाहिनेभन्दा कयौ गुणा धेरै भएपछि परिवारले नियत बिगारेका थिए । त्यसरी नियत बिगार्नेहरुमा तिमिल्सिनाको परिवार मात्रै नभएर अन्तर्राष्ट्रिय सहजकर्ता संयोजक धरम केसी समेत रहेछन् १३ महिनापछि पत्रकार श्रेष्ठले खुलासा गरेबाट पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्