दशैंमा ९०% खसीबोका भारतबाट आयात हुने

सङ्घका संरक्षक दीपक थापाका अनुसार खसीबोका आयातको क्रममा दशैंमा मात्रै करीब ५० करोड रुपैयाँभन्दा बढी रकम भारत जानेछ । ‘भारतबाट धेरै सङ्ख्यामा खसीबोका आयात गर्दा भन्सारलगायत अन्य भेटेनरी जाँच सहज हुने गर्छ,’ थापाले भने, ‘तर नेपालका विभिन्न जिल्लाबाट आयात गर्दा निकै झन्झटिलो प्रक्रिया हुने गर्दछ ।’ चाडपर्वको समयमा सहजताका साथ उपभोक्तामाझ खसीबोका विक्री गर्नुपर्ने हुँदा भारतबाट नै आयात गनुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे । यसले पछिल्लो समय मुलुक खसीबोका उत्पादनमा आत्मनिर्भर हुने भने पनि अझैसम्म भारतमाथि नै निर्भर रहेको प्रष्ट पारेको छ ।

संस्थानद्वारा ३ करोडभन्दा बढी विनियोजन
दशैंका लागि खसीबोका किन्न नेपाल खाद्य संस्थानले ३ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको छ । संस्थानले १५ सय खसीबोका र १ हजार च्याङ्ग्रा गरी कुल २५ सयओटा खसीबोका किनेर विक्री गर्ने लक्ष्य राखेको प्रवक्ता शङ्कर सापकोटाले बताए ।

संस्थानले विभिन्न जिल्लाबाट खसीबोका खरीदको प्रक्रिया अघि बढाइसकेको बताएको छ । सापकोटाका अनुसार खसीबोका खरीदका लागि सरकारले गत आवमा भने ४ करोड ६७ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, चालू आवमा भने उक्त रकम घटेको हो । गत आवमा संस्थानले करीब २९ सय खसीबोका तथा च्याङ्ग्रा विक्री गरेको थियो ।

संस्थानले विक्री गर्ने खसीबोका तथा च्याङग्राको मूल्य निजीक्षेत्रको तुलनामा १५ देखि २० रुपैयाँ प्रतिकेजी सस्तो हुने सापकोटाले दाबी गरे । खसीबोका दाङ र मकवानपुरबाट तथा मुस्ताङबाट च्याङ्ग्रा आयात गरिने उनले जानकारी गराए । हरेक वर्ष जस्तै यस वर्ष सर्वसाधारणले सस्तो मूल्यमा गुणस्तरीय खसीबोका खरीद गर्न पाउने संस्थानको दाबी छ । यद्यपि, मूल्य भने अहिले नै तोक्न नमिल्ने संस्थानको भनाइ छ ।

कमेन्ट गर्नुहोस्