मोहन वैद्यलाई एक्ल्याउँदै परी थापा समूह

काठमाडौं, भदौ २६ ।  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई परी थापा समूहले एक्ल्याउन खोजेको छ । एकता भएको दुई वर्ष नपुग्दै नेकपा (एकीकृत) बाट आएका थापा समूहले वैद्यलाई एक्ल्याउन खोजेका हुन् । थापा समूहका रामसिंह श्रीस र सीताराम तामाङले माओवाद विचार र जनयुद्धको विषयमा वैद्यको दस्ताबेजमा फरक मत राखेका छन् ।

नेपाली समाजको स्वरूप र पार्टीको आम कार्यदिशा २५ देखि ३० असारसम्म चलेको केन्द्रीय समिति बैठकले पास गरेको थियो । सोही बैठकमा वैद्यले पेस गरेको दस्ताबेजमा श्रीस र तामाङले राखेको फरक मतलाई दस्ताबेजमा समेटिएको छ । वैद्यको दस्ताबेजसँग असहमत श्रीस र तामाङको राजनीतिक दस्ताबेज नेताहरूलाई पढ्न दिइएको छ । दुईजनाको फरक मतलाई आगामी २१ असोजमा हुने राष्ट्रिय सम्मेलनमा टुंगो लगाइने भएको छ । श्रीस र तामाङले दस्ताबेजमा माओत्सेतुङ अर्थात् माओवादलाई वादको रूपमा नभई विचारको रूपमा मात्र मान्नुपर्ने फरक मत राखेका छन् । फरक मतमा माओवादी जनयुद्धलाई जनताको सहभागितामा नभई केही कार्यकर्ताद्वारा मात्र चलाइएको युद्ध भनिएको छ ।

माओवादी जनयुद्ध होइन
थापा समूहले माओवादीका निश्चित कार्यकर्ताले मात्र युद्ध गरेकाले जनयुद्ध भन्न नमिल्ने तर्क गरेका छन् । ‘माओवादीले ०५२ सालमा सुरु गरेको युद्धमा जनताको व्यापक सहभागिता थिएन । एक प्रकारले आन्दोलन मन्दी अवस्थामा थियो । पार्टी संगठनको अवस्था पनि त्यति मजबुद थिएन । त्यसैले माओवादीका निश्चित कार्यकर्ताले मात्र गरेको युद्ध हो ।’ थापा समूहको निष्कर्ष छ ‘मालेमावादमा माक्र्स, एंगेल्स, स्टालिन र माओले अपनाएको दृष्टिकोणअनुसार सशस्त्र संघर्ष व्यापक जनताको सहभागितामा हुन्छ । जसको पहलकदमी पार्टीले गर्छ ।’

पार्टी एकता हुँदाको सहमति
दुई पार्टीबीच २५ कात्तिक ०७२ मा एकता भएको थियो । त्यसपछि पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राखिएको थियो । एकता घोषणा हुनुभन्दा पहिले दुई पार्टीबीच वैचारिक, राजनीतिक र संगठनात्मक प्रश्नहरूमा छलफल भएपछि ६ बुँदे सहमतिपछि एकता भएको थियो । मालेमावाद मान्ने माओवाद वा माओ विचारधारण के मान्ने भन्ने विषयमा बहस र छलफलद्वारा संयुक्त अधिवेशनबाट पारित गर्ने भनिएको थियो । क्रान्तिकारी माओवादीका पाँचजना केन्द्र्रीय कार्यालयमा थापा समूहका परी थापा र रामसिंह श्रीस छन् । केन्द्रीय सचिवालयमा रहेका १९ मध्ये ६ जना थापा समूहका छन् । जसमा सीताराम तामाङ, केबी गुरुङ, तेजबहादुर परियार, प्रेमनाथ सुवेदी, कमल चौधरी र नागेन्द्र राई छन् । तर, ९५ केन्द्रीय सदस्यमा थापा समूहका २० जनाभन्दा धेरै छन् ।

यसकारण माओवाद मान्न सकिँदैन
श्रीस र तामाङले माओवाद मान्न नसकिने भन्दै पाँच बुँदामा असहमति राखेका छन् । माओले नेतृत्व गरिरहेका वेला नै चिनियाँ कम्युनिस्ट पार्टीभित्र व्यापाक बहस भएको र स्वयं माओले नै माओवाद राख्ने विषयलाई अस्वीकार गरी माओविचारधारा राखेको हुनाले माओवादभन्दा माओ विचारधारा नै राख्न उपयुक्त हुन्छ ।

माओले माक्र्सवाद, लेलिनवादमा जे विकास गरे त्यो युगभित्रकै कुरा भएकाले माओवाद विचारधार पदावली प्रयोग गर्दा वैज्ञानिक हुन्छ ।

निश्चित नै युगभित्र चरणहरू हुन सक्छन् । तर, चरणको आधारमा हामीले वाद थप्दै गयौँ भने त्यसले पनि समस्या ल्याउँछ । एउटै चरणमा पनि पहिलेको विचार, सिद्धान्तभन्दा आधाभूत रूपले भिन्न विचार सिद्धान्त ल्याउँदा त्यसलाई वाद भन्न सकिन्छ । तर, पहिलेको विचारभन्दा भिन्न होइन, त्यसको नै विकासको निरन्तता हो भने त्यसमा वस्तुगत अवस्थाको विकास युगसँग जोड्नैपर्छ ।

माक्र्सवादको विकासमा एंगेल्स र स्टालिनको पनि कम योगदान छैन । तर, ऐजेल्सवाद र स्टालिनवाद भन्दैनाैँ । माओको योगदान सार्वभौम हुँदैमा वाद भन्नुपर्छ भन्ने केही छैन ।

क्रान्तिकारी आन्दोलनले क्रान्तिकारी नेताहरू जन्माउँछ । तर, कुनै वस्तुगत आधारविना कसैलाई स्थापित गर्न नामको पछाडि विचारधारा वा पथ जोड्ने कुरा सही होइन । माक्र्सवादले इतिहासको निर्माता वास्तवमा जनता हुन्, त्यसमा नेताहरूको महत्वपूर्ण भूमिका हुन्छ भन्छ । यस दृष्टिकोणबाट हेर्दा कुनै अमूक नेतालाई स्थापित गर्न विचारधारा, पथ वा यस्तै, अन्य पदावली थप्दै जाने कुरा मालेमावादी सोचाइसँग मेल खाँदैन । माओवाद पदावली प्रयोग गरे पनि व्यक्ति विशेषको नाममा विचारधारा वा पथ थप्ने कुरा सहज हुने भएकाले माओवाद भन्नुभन्दा माओ विचार भन्नु उपयुक्त हुन्छ । –नयाँ पत्रिकाबाट 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!