उपत्यकाको फोहोर आजबाट उठ्ने

काठमाडौं, भदौ २५ । विगत एक सातादेखि थुप्रिएको राजधानीको फोहोर आजबाट उठाउन सुरु गरिएको छ ।

ओखरपौवासीले नुवाकोटको सिसडोलमा फोहोर फाल्न नदिएपछि विगत एक साता यता राजधानीमा फोहोर थुप्रिएका थिए । काठमाडौ र ललितपुर महानगरपालिका तथा ओखरपौवाका स्थानीयवासीबीच ५ बुँदे सहमति भएपछि आजदेखि फोहर उठाउन शुरु गरिएको हो ।

दुई महानगरले स्थानीयवासीसँग सिसडोल ल्यान्डफिल साइटबाट प्रभावित क्षेत्रमा दुर्गन्ध नफैलिने गरी औषधि केमिकल नियमित हाल्ने, फोहोरलाई व्यवस्थित तरिकाले विसर्जन गरी माटाले पुर्ने, स्थानीयवासी बिरामी परेमा काठमाडौंको अस्पतालसम्म पुर्‍याउन चार महिनाभित्रमा नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने लगायतका सहमति गरेका छन् ।

फोहोरमैलाको व्यवस्थापन गर्न स्थानीय स्तरमा अधिकार सम्पन्न समिति बनाउने र समितिले मुआब्जालगायत अन्य मागबारेमा सम्बोधन गर्ने, सरकारले छुट्याएका मुआब्जा तत्काल विरतण गर्ने र काठमाडौं–ओखरपौवा सडकका खाल्डाखुल्डी पुर्नु पर्ने सहमति भएको ललितपुर महानगरका सुचना अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!