नेपाल-चीन सम्बन्ध समस्यारहित : महरा

काठमाडौं, भदौ २४ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल-चीनबीचको सम्बन्ध समस्यारहित र मित्रवत् रहेको बताएका छन् । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री महराले बेइजिङमा शुक्रबार आयोजित ‘सीमापार हिमालय विकासका लागि नेपाल-चीन साझेदारी’ विषयक अन्तक्र्रियामा सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच असंख्य राजनीतिक परिवर्तन र रूपान्तरण भए पनि सम्बन्ध एकनासले विकसित हुँदै आएको बताए । ‘फरक आकार र सामाजिक व्यवस्था भएका मुलुकका लागि नेपाल-चीन सम्बन्ध नमुना हो । हाम्रो सम्बन्ध समस्यारहित छ’, उनले भने ।

चीनले नेपालसहित छिमेकी मुलुकसँगको सम्बन्धलाई आफ्नो विदेश नीतिको प्राथमिकतामा राखेकामा महराले खुसी व्यक्त गरे । चीनको शान्तिपूर्ण विकास दूरदर्शी र प्रतिबद्ध नेतृत्व एवं मिहिनेती जनताको लगावबाट सम्भव भएको उनले बताए । ‘चीनको अभूतपूर्व विकास रूपान्तरण विश्वका विकासशील धेरै मुलुकका लागि प्रेरणादायी छ’, उनले भने ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणा (बआिरआई) मा नेपाल सहभागी भइसकेको उल्लेख गर्दै महराले चीनसँग सहकार्य र साझेदारीका लागि बीआरआई नयाँ अवसरका रूपमा आएको उनले बताए । बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागितापछि सम्बन्धले नयाँ उचाइ लिएको उनले दाबी गरे । ‘पूर्वाधार विकास, कनेक्टिभिटी सुदृढीकरण, निष्पक्ष व्यापार, लगानी, पर्यटन र जनताबीचको सम्बन्ध विकासमा यो अवधारणा महत्वपूर्ण छ’, उनले भने ।
नेपालका जनताले चिनियाँ रेल उत्तरी नाकासम्म विस्तार होस् भन्ने दृढ इच्छा राखेको उनले बताए । ‘चिनियाँ रेल आफ्नो सीमासम्म विस्तार होस् भन्ने नेपालको जायज माग हो । चिनियाँ स्रोत-साधन र प्रविधिबाट यो सम्भव छ भन्नेमा म आशावादी छु’, उनले भने, ‘नेपाल र चीन दुवैतर्फका नेता यसलाई अघि बढाउन प्रतिबद्ध देखिएका छन् ।’

‘चिनियाँ रेल आफ्नो सीमासम्म विस्तार होस् भन्ने नेपालको जायज माग हो । चिनियाँ स्रोत-साधन र प्रविधिबाट यो सम्भव छ भन्नेमा म आशावादी छु ।’ – कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै महराले नेपालले छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि दुरुपयोग हुन नदिने उल्लेख गरे । ‘नेपालमा जुनसुकै दलले सरकारको नेतृत्व गरे पनि नेपाल-चीनबीचको मित्रता निकट र सौहार्दपूर्ण रहँदै आएको छ । यो नै हाम्रो मौलिकपन हो’, उनले भने ।

नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित रहेको महराले बताए । ‘सार्वभौमिक समानता, अहस्तक्षेप र एकअर्काका साझा चासोका हितको सम्मान गर्नु हाम्रो सम्बन्धका विशेषता हुन्’, महराले भने । नेपाल र चीनबीचको सम्बन्ध मजबुत आर्थिक सहकार्य र साझेदारीमा अडेको चर्चा गर्दै महराले चीन नेपालको सामाजिक आर्थिक प्रगति र रूपान्तरणका लागि विश्वासिलो र भरपर्दो साझेदार रहेको बताए ।

महरा-ताव भेट

परराष्ट्रमन्त्री महराले शुक्रबारै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावसँग भेटवार्ता गरेका छन् । भेटमा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध तथा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । नेपालले दुई चरणको स्थानीय चुनाव सम्पन्न गरी तेस्रो चरणको चुनावका साथै प्रान्तीय र संसदीय चुनावका लागि तयारी अघि बढाएको उनले जानकारी गराएका थिए । चिनियाँ नेता तावले नेपालले दुई चरणको स्थानीय चुनाव सम्पन्न गरेकोमा बधाई दिए । ‘तेस्रो चरणको चुनाव तथा बाँकी दुई चुनावको सफलताका लागि हामी कामना गर्छौं, नेपालमा राजनीतिक स्थिरता र समृद्धि चीनको चाहना हो’, उनले भनेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!