जुधेर गैंडाको मृत्यु

चितवन, भदौ २३ । पूर्वी चितवनको कुमरोजमा दुईवटा गैंडा आपसमा जुद्दा एउटा गैंडाको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जकानुसार इचर्नी र ढुंग्रेखोलाको दोभानमा एउटा भाले गैंडाले अर्को भाले गैंडालाई हानेर ७ मिटरमाथिबाट खस्दा शुक्रबार एउटा गैंडाको मृत्यु भएको हो।

जुध्दै जुध्दै अग्लो स्थानबाट दुइटै गैंडा तल खसेको र तल खसेपछि पनि फेरि हानेर मारेका हुनसक्ने अनुमान स्थानीयले गरेका छन । स्थानीय गोठालाहरुले गैंडा जुधेर खसेको देखेपछि निकुञ्जलाई खबर गरेका थिए। अहिले गैंडाको पोष्टमार्टमका लागि निकुञ्जका चिकित्सकको टोली पठाइएको छ।

चितवन निकुञ्जका अनुसार गएको वर्ष विभिन्न कारणले २५ वटा गैंडा मरेका छन । जसमध्ये २१ वटा प्राकृतिक कारणले, दुईवटा तस्करको गोलीबाट र दुईवटा गैंडा करेन्ट लागेर मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैंडा रहेकोमा एक दर्जन जति शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जमा स्तानान्तरण गरिएको छ ।

कमेन्ट गर्नुहोस्