यसकारण प्रचण्ड नेपाली राजनीतिका किंगमेकर

प्रायः राजनीतिसँग सम्बन्धित लेख रचनाहरु म खोजि खोजि पढ्ने गर्छु । कुनै समय म आफै माओबादी पार्टी प्रति आस्था राख्थे । तर, शान्तिप्रकृयामा आएपश्चात् जब माओबादीभित्र चरम गुटबन्दी भई पार्टी बिभाजनको शिकार बन्यो त्यस बेलादेखि माओबादीप्रति मात्र होईन अन्य कुनै पार्टीप्रति आस्था राखिन । यसो भनिरहदा म राजनीतिक चेतनाबाट टाढा छैन । बिभिन्न राजनीतिक दलका नेताहरु केहि मन पर्छन् मलाई । बिषेशगरी दोश्रो पुस्ताका केहि नेताहरु प्रदीप ज्ञावाली, विश्वप्रकाश शर्मा र जनार्दन शर्मा मलाई मनपर्ने नेताहरु हुन् । अनि पहिलो पुस्ताका नेतामा प्रचण्ड ।

केदारनाथ नेपाल (निश्चल)

प्रचण्डका बारेमा धेरै लेखहरु लेखिए, किताब लेखिए । पङ्तिकारले पनि केहि समय अघिमात्र प्रचण्डको बारेमा लेखेको थियो र यसपटक फेरि लेख्दैछु । पहिलो पुस्ताका नेताहरुमा सबैभन्दा मनपर्ने नेता भनेका ‘प्रचण्ड’ नै हुन् । यसो भनिरहदा मलाई माओवादी कार्यकर्ताको आरोप पनि लाग्ला । आरोप लगाउनु र यथार्थ फरक कुरा हुन् । म माओवादी होईन तर म दावाका साथ भन्न सक्छु , मेरो मात्र होईन एकताका पुरै तीन करोड नेपालीको मनमा बसेका नेता हुन् प्रचण्ड । त्यसकारण पङ्तिकारको मनमा बस्नु नौलो कुरा रहेन ।

म प्रचण्डमा सारा दुनियाँको मार्क्स प्रतिको केहि धारणासमेत पाउछु । त्यसलाई दुनियाँले पनि पुष्टि गरिदिएका छन् । केही ब्यक्तिहरुले मार्क्सलाई जस्तै प्रचण्डलाई पनि आधा देवता र आधा राक्षसको रुपमा बुझेका छन् । प्रचण्डको बारेमा दुविधामा रहेका मानिसहरुले उनलाई यसै हुन् भन्न सकिरहेका छैनन् । प्रचण्डप्रतिको धारणामा मानिसहरु बद्लिरहन्छन् , त्यो देख्दा बडो अनौठो लाग्छ, प्रचण्डको बारेमा टिप्पणी गर्ने ब्यक्तिहरु देखेर । एउटै ब्यक्ति, कहिले प्रचण्डलाई गालि गरिरहेको देख्छु, कहिले समर्थन । आखिर किन मानिसहरु बद्लिरहन्छन् र प्रचण्डलाई कहिले समर्थन र कहिले गाली गरिरहन्छन् , केबल एउटा प्रश्न गर्न मन लागिरहेछ उनिहरुलाई ।

मेरो बुझाईमा यस मानेमा प्रचण्डलाई राक्षसको रुपमा बुझेका छन् । प्रचण्डले जनताको मुक्तिकै लागि जनयुद्वको शुरुवात गरे, सामन्तबादको ज्वरो उखेलिदिए र जनतालाई आफ्नो फैसला आफै गर्नसक्ने हैसियतमा ल्याईदिए । यसो भनिरहदा मैले प्रचण्डको देवत्वकरण गर्न खोजिरहेको छैन । किनकी उनि पनि हामी जस्तै मानिस हुन् मानिस कहिलै देवता हुदैनन् । यदि देवत्वकरण गरेको बुझ्नुभयो भने त्यो तपाईको गम्भीर भुल मात्र होईन तपाई आफु चुर निन्द्रामा रहेको महसुस तपाई आफैले गर्नुपर्नेछ ।

गणतन्त्र पश्चात् नेपालका शक्तिशाली राजनीतिक ब्यक्तिको सूचि बनाऊ भनेर कसैले मलाई भन्यो भने सुरुमा प्रचण्डको नाम आउनेछ । त्यसपछि लेख्ने अरु नाम छैन यदि लेख्नै पर्योभने अझै दशकौ कुर्नुपर्ला, शायद ।जोखिमको अर्को नाम प्रचण्ड हो भनेर भन्दा फरक नपर्ला । किनकी नेपाली राजनीतिमा प्रचण्ड जत्तिको जोखिम लिन सक्ने ब्यक्ति अन्य राजनीतिक दलमा छैनन् ।

मुख्य तनि दलका अध्यक्षहरुको राजनीतिक हैसियतको कुरा गर्दापनि प्रचण्ड जत्तिको राजनीतिक हैसियत अन्य दलका नेताहरुको छैन चाहे तेश्रो शक्तिको हैसियतमा किन नहुन् प्रचण्ड । प्रचण्ड त्यस्तो पार्टीका नेता होईनन् जस्तो पार्टी केपी ओली र शेरबहादुर चलाउछन् । न त ओली र शेरबहादुरले झै अर्काले बनाईदिएको हैसियतमा रहेर पार्टी चलाउछन् । प्रचण्डले त आफैले जोखिमहरुसँग खेलेर बनाएको पार्टी चलाउछन् । र त प्रचण्ड आज साँच्चै प्रचण्ड बनेका छन् ।

देशमा घट्ने सकारात्मक राजनीतिक घटनाक्रममा प्रचण्डको मुख्य भूमिका रहन्छ । बोलिमा मिठास र राजनीतिक इमानदारी मात्र होईन सबैको मागलाई सम्बोधन गर्नसक्ने उच्च क्षमता भएका ब्यक्तिपनि हुन् प्रचण्ड । त्यसलाई वर्तमान संविधानप्रति असन्तुष्ट मधेशवादी दललाई प्रचण्डले निर्वाचनमा आउने वातावरण बनाए त्यसैलाई हेर्दापनि स्पस्ट हुन्छ ।

बेला बेलामा प्रचण्डलाई युद्वको नाममा १७ हजार मारेको आरोप लाग्ने गरेको छ । जसले प्रचण्डलाई त्यो आरोप लगाउछ उ आफै भ्रममा बाचिरहेको प्रस्ट हुन्छ । सरकार र बिभिन्न संस्थाहरुले अध्ययन गरेर सार्वजानिक गरेको तथ्याङ्कमा पनि १७ हजार मध्ये १३ हजार मानिस राज्यपक्षबाट मारिएको सार्वजानिक भएको छ । त्यसैले १७ हजार मारिनुको कारण प्रचण्ड मात्र होईनन् तत्कालीन सरकार (कांग्रेस–एमाले) पनि हुन् भन्ने स्पस्ट हुन्छ ।

प्रचण्ड त्यस्ता ब्यक्ति हुन् जसले आफुमाथी ठुला–ठुला संकट आउदा पनि संयमता नगुमाई क्रियाशील रहिरहे र नेपालको राजनीतिमा ठुलो परिवर्तन ल्याईदिए । यदि प्रचण्ड नभईदिएको भए माओवादी भन्ने पार्टी नेपालमा नहुन सक्थ्यो, अनि यति छिट्टै देशमा गणतन्त्र नआउन सक्थ्यो । जनताको संविधान नबन्न सक्थ्यो, अनि हामिले यसरी मिडियामा स्वतन्त्र रुपमा लेख्ने अवसर पनि नपाउन सक्थ्यौ । त्यसैले भन्न मन लाग्छ यस युगका महानायक हुन् प्रचण्ड ।

प्रचण्ड ब्यक्ति होईन, अनि पुष्पकमल दाहाल पनि होईन । प्रचण्ड त्यस्तो विचार र राजनीतिक पथ हो जसले नेपालको राजनीतिलाई सहि दिशानिर्देश गरिरहेको छ ।जनयुद्व थालनी गर्दा प्रचण्ड ब्यक्ति थिए । शान्तिप्रकृयामा आएपश्चात् विचार बनेर आए । यदि विचार नबनेका भए साँच्चै प्रचण्डपथ लेखिदैन थियो अनि अहिलेको यावत् परिवर्तनको सम्भावना रहदैन पनि थियो ।

दश वर्षसम्म भूमिगत जिवनलाई सहजै पचाउन सक्ने अभुतपुर्प क्षमता मात्र होईन जंगलमा रहँदा आफुले उठाएका मुद्वाहरुलाई सिहदरवारमा आएर पुरा मात्र होईन, आफ्ना मुद्वाहरुको बिरोधमा रहेकाहरुलाई समेत उक्त मुद्वामा निउरिएर आउन बाध्य बनाउने र राष्ट्रको महत्वपूर्ण परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्ने नेपाली राजनीतिका एकमात्र किङ मेकर हुन् प्रचण्ड ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!