आंशिक प्रध्यापकको धर्नामा प्रहरी हस्तक्षेप, ३० बढी घाइते

काठमाडौं, भदौं २३ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र बालुवाटार अगाडि एकसाथ आन्दोलन चलाइरहेका आंशिक प्राध्यापकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

धर्नामा प्रहरीले बल प्रयोग गर्दा शुक्रबार बालुवाटारमा ३० भन्दाबढी आंशिक प्राध्यापकहरु घाइते भएका छन् । घाइतेहरुको वीर र टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

आंशिक प्राध्यापक संघका सदस्य माधव पौडेलका अनुसार घाइते हुनेहरुमध्ये शिरोमणी गजुरेल गम्भीर घाइते भएका छन् । उनलाई वीर अस्पताल र साधारण घाइतेहरु रगन केसी, रविन्द्रनाथ गजुरेल, सिविना थापा र विष्णु न्यौपानेको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

गजुरेलको छाति र खुट्टामा चोट लागेको छ । उनले भने – शान्तिपूर्ण धर्नामा गजुरेलको छातिमा प्रहरीले बुट् हाने ।

उनीहरुले आंशिक सेवालाई खारेज गरी विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर अनुसार लैजानुपर्ने र करार सेवामा नियुक्त गर्नुपर्ने माग राख्दै ४५ दिनदेखि त्रिवि केन्द्रीय कार्यालयमा रिले अनशन र बालुवाटारमा धर्ना जारी राखेका थिए । यसै क्रममा प्रहरीले सडक खुलाउन उनीहरुमाथि हस्तक्षेप गरेको हो ।

यसअघि पटक–पटक अनसन, सम्झौता, ज्ञापनपत्र बुझाउने, भेट्ने लगायतका आन्दोलनका कार्यक्रम गरेका थिए ।

कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गराउन त्रिवि पदाधिकारीहरुलाई निर्देशन दिइसकेपनि भिसी, रेक्टर र रजिष्टारले मागको वेवास्ता गरेको आरोप आंशिकले लगाउँदै आएका छन् ।

शुक्रबारकै घटनालाई लिएर नेपाल आंशिक प्राध्यापक संघले खेद प्रकट गर्दै प्रहरी दमन भएमा नेपाल सरकार, त्रिवि पदाधिकारी र प्रहरी प्रशासनले ठूलो मुल्य चुकाउनुपर्ने संघद्वारा शुक्रबार जारी विज्ञप्ती भनिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!