एमालेभित्र चुलियो विवाद !

जनकपुर, भदौ २३ । नजिकिँदो स्थानीय तेस्रो चरणको निर्वाचनको विषयलाई लिएर एमालेभित्र विवाद चुलिएको छ । उम्मेदवारको विषयलाई लिएर धनुषा एमालेमा देखिएको विवाद सार्वजनिक भएको हो । एमाले नगर कमिटीका अध्यक्षसहित जिल्ला कमिटीका सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरि असन्तुष्ट सार्वजनिक गरेका हुन् ।

उनीहरुले जिल्ला कमिटीका अध्यक्ष राजकिशोर यादवले पार्टीको आडमा मनोमानी व्यवहार गरेको खुलासा गरेको छ । निर्वाचनका लागि नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीबाट सर्वसम्मत भएका उम्मेदवारलाई समेत यादवले उल्टाउने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।

अध्यक्ष यादवले आर्थिक चलखेलका आधारमा उम्मेदवार उल्टाउने काम गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले पार्टी नेतृत्वले कारवाही नगरे आधिकारिक उम्मेदवारविरुद्ध उत्रने चेतावनीसमेत दिएका छन् । तत्काल पार्टी नेतृत्वले दोषी अध्यक्ष यादवलाई कारवाही नगरे आफूहरु एक्सनमा उत्रिने र त्यो पार्टीको लागि निकै भारी बन्ने असन्तुष्ट सहभागी सुरेन्द्र राईले भने ।

पत्रकार सम्मेलनमा असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार दिने उम्मेदवारहरु समेत उपस्थित थिए । सार्वजनिक प्रेस विज्ञिप्तिमा जनकपुर उपमहानगरपालिकाको वडा नं ८ मा मोहन उपाध्यायको ठाउँमा दिनेशकुमार सिंह, वडा नं ११ मा रामसिकिल मण्डलको नाममा सर्वसम्मत भएकोमा विनोद मण्डललाई दिइएको, वडा नं १३ मा कमला कवारीको ठाउँमा शुभनारयाण मण्डल, वडा नं २० मा धैर्यकान्त झाको ठाउँमा रामसोभित दास, वडा नं २२ मा रामसोभित मण्डलको ठाउँमा प्रदीप कुमार ठाकुरलाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टहरुले आक्रोश पोखेका हुन । उनीहरुले जिल्ला कमिटीबाट सर्वसम्मत भएको निर्णय पुस्तिका समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!