आर्थिक अभावका कारण उपचारमा समस्या

पर्वत, भदौ २३ । धन कमाउन विदेशिएका श्रीमान् र काखे छोरालाई एकैपटक मिर्गौला रोगले समातेपछि पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीकी सुकमाया दर्जी केही दिनयता पिरलोमा हुनुहुन्छ ।

कमाएर सातजना परिवारको गर्जो टार्न तीन महिनाअघि साउदी जानुभएकमा श्रीमान् नरबहादुर दर्जी त्यहाँ पुग्न नपाउँदै मिर्गौलामा खराबी देखिएको खबर आयो । श्रीमान् बिछोडिएको केही दिनमै खेल्दाखेल्दै घरनजिकैको रूखबाट लडेका नौ वर्षीय छोरा शक्तिमानलाई पोखराको मणिपाल अस्पताल पुर्याएपछि एउटा मिर्गौलाले काम गर्न छोडेको चिकित्सकले सुनाए । त्यो खबरले सुकमाया छाँगाबाट खसेजस्तै हुनुभयो । चिकित्सकले छोरालाई थप उपचारका लागि काठमाडौँ लैजान र त्यसका लागि करिव रु एकलाख खर्च हुने सुझाव दिए तर सुकमायाले आफूसंग काठमाडौँ जाने बस भाडासमेत नभएको गुनासो गर्नुभयो ।
“कमाउन जानुभएका श्रीमान् उतै अस्पतालमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यता छोराको यो हालत छ ।” नरबहादुरले गाउँबाट रु एक लाख ५० हजार ऋण खोजेर साउदी पुग्नुभएको थियो । साउदी पुगेपछि काम शुरु गर्न नपाउँदै अस्पताल भर्ना हुनुभएका उहाँलाई त्यहाँ रहेका नेपालीको सहयोगमा मिर्गौलाको डायलासिस भइरहेको छ । “यता ऋणको ब्याज बढेको बढै छ”, सुकमायाले गहभरि आँसु पार्दै भन्नुभयो, “कमाइ खाने यो ज्यान पनि यसैलाई बोकेर यताउता गर्नु परेपछि अब मेरो के हालत होला ।”

नरबहादुरलाई साउदीस्थित कम्पनीले उपचारका लागि नेपाल जान सुझाएको खबर आएको छ । “उता श्रीमान्लाई पनि कम्पनीले नेपाल फर्काउन लागेको छ”, उहाँले भन्नुभयो, “अब छोराको उपचार गर्ने कि श्रीमान्को ?” ३५ वर्षको उमेरमै पाँच सन्तानकी आमा बुन्नुभएकी सुकमायालाई सन्ततिलाई साँझ बिहानको गाँस जुटाउन उस्तै समस्या छ ।

सम्पत्तिका नाममा १० पाथी कोदो फल्ने बारी र एकतले खरको छाप्रोबाहेक अरू केही नहुँदा श्रीमान् विदेशिएपछि केटाकेटीलाई पेटभरि एकछाक खुवाउनसम्म नसकेको उहाँले बताउनुभयो ।

सरकारी अस्पतालमा विपन्नका लागि उपचार कोषको रकम हुने भए पनि सुकमायालाई त्यसबारे जानकारी छैन । “गरिबको कार्ड भए उपचारमा पैसा लाग्दैन भन्ने त सुनेको हो”, उहाँले गुनासो गर्नुभयो, “ हामीजस्तालाई कसले हेर्छ र ?” असार २९ गतेदेखि बिरामी परेका छोराको उपचारका लागि यताउता ऋण खोजेर सुकमायाले रु ३० हजार खर्च गरिसक्नुभएको छ ।

सुकमाया यतिबेला कसैको सहयोग पाउने आशमा छोरालाई काखी च्यापेर हारगुहार गरिरहनुभएको छ ।

विभिन्न सङ्घसंस्थाले आफूजस्तै दुःखी र पीडितलाई सहयोग गर्छन् भन्ने सुनेको छु खै मैले कहीँबाट सहयोग पाउन सकिनँ सुकमायाले  भन्नुभयो ।

कमेन्ट गर्नुहोस्