बेइजिङमा महराको उच्चस्तरीय भेटवार्ता, दुई समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, भदौ २३ ।

निर्वाचनमार्फत नेपालमा शान्ति, स्थिरता र विकास हुनेछ : चीन

सीमापार रेल निर्माण परियोजनामा नेपालमा आमसहमति छ : महरा

उपप्रधानमन्त्री कृष्णबहादुर महराले तातोपानी नाका सुचारु गर्न र अन्य नाकाको स्तरोन्नति गर्न चीनलाई आग्रह गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली खछियाङ, स्टेट काउन्सिलर याङ जेइची तथा विदेशमन्त्री वाङ यीसँग बुधबार भएका बेग्लाबेग्लै भेटवार्तामा महराले विद्यमान सीमा–नाका स्तरोन्नतिसहित सञ्चालनमा जोड दिएका हुन् । चीनको औपचारिक भ्रमणमा रहेका महराले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ्सबाट नेपालको पूर्वाधार, ऊर्जा क्षेत्रमा सहयोग पुग्ने प्रत्याभूतिसमेत मागेका छन् ।

प्रधानमन्त्री कार्यालय झोङनानहाईमा भएको भेटवार्तामा महराले बेल्ट एन्ड रोड इनिसिएटिभ्समार्फत चीनसँग नेपालले साझेदारी वृद्धि गर्न चाहेको भन्ने व्यहोरा समेटिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश सुनाएका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार देउवाको सन्देशमा उल्लेख छ, ‘नेपाल र चीन बेल्ट एन्ड रोड इनिसिएटिभ्सबाट प्राप्त अवसरलाई सदुपयोग गर्न नजिकबाट काम गर्दै आएका छन् । अब योअन्तर्गत सीमापार कनेक्टिभिटी, भौतिक पूर्वाधार, व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्बन्ध विस्तार आवश्यक छ ।’

महराले चिनियाँ प्रधानमन्त्रीसँग चीनसँगको सम्बन्धबारे नेपालमा सबै पार्टीहरू एकै ठाउँ उभिएको र चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताए । ‘नेपाल–चीन सीमापार रेल्वे परियोजनालाई राष्ट्रिय प्राथमिकता आयोजनाका रूपमा अघि बढाउन नेपालका विपक्षीसहित सबै प्रमुख राजनीतिक दलहरूबीच साझा सहमति रहेको सन्देशसहित म आएको छु,’ नेपाली दूतावासका अनुसार महराले चिनियाँ प्रधानमन्त्रीसँग भने । भेटमा दुवै पक्षबीच सो परियोजनाको प्राविधिक पक्ष चाँडै टुंगो लगाउने सैद्धान्तिक सहमति पनि भएको छ । उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि दुवै पक्ष सहमत भएको छ ।

‘अरनिको राजमार्ग शीघ्र सञ्चालनमा ल्याउनुपर्छ भन्ने नेपालको दृष्टिकोण मैले राखेँ । हामी विद्यमान सीमा–नाकाको स्तरोन्नति गर्ने तथा नयाँ नाका खोल्ने विषयमा पनि सहमत भएका छौँ,’ महराले भने ।

महराले चीनको स्टेट काउन्सिलर याङ जेइचीसँग बुधबार भेटवार्ता गरेका छन् । भेटमा महराले चीन र नेपालबीच यसअघि हस्ताक्षर भएको बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ्स) को कार्यान्वयनलाई नेपालले उच्च महत्व दिएको जानकारी दिए ।

महराले चीनको निकट छिमेकीका रूपमा नेपालको विकासका आवश्यकता तथा अपेक्षालाई बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गत प्राथमिकीकरण गर्ने नेपालको चाहना रहेको बताए । जवाफमा स्टेट काउन्सिलर जेइचीले भने, ‘बिआरआईअन्तर्गत आपसी लाभ हुने गरी दीर्घकालीन महत्वका परियोजनाको कार्यान्वयनबाट दुवै देशको सम्बन्ध नयाँ उचाइमा पु¥याउनुपर्छ । ’

नेपाल स्थिर होस् : चीन
चीनका प्रधानमन्त्री लीले नेपालको स्थायित्व चीनको चासो भएको बताएका थिए । औपचारिक वार्तामा सहभागी अधिकारीका अनुसार उनले आसन्न निर्वाचनमार्फत नेपालले स्थायित्व हासिल गर्ने विश्वास प्रधानमन्त्रीको थियो । महराले निर्वाचनमार्फत नेपालले शान्ति, स्थिरता र आर्थिक विकासको बाटो समात्ने विश्वास दिलाएका थिए ।

द्विपक्षीय वार्तामा के–के भयो ?
समकक्षी वाङ यीसँगको औपचारिक वार्तामा द्विपक्षीय हितका सबै विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । वार्तामा दुई देशबीच अहिलेसम्म उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेकोमा खुसी व्यक्त गरिएको थियो । द्विपक्षीय आपसी संयन्त्र गठन गर्ने त्यसमार्फत विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिइने सहमति भएको छ ।

‘नेपाल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा दृढ समर्थन गर्दछ र यसबाट लाभान्वित हुन आतुर छ,’ महराले भने । भूकम्पपछि पुनर्निर्माणमा सहयोग तथा आर्थिक विकासमा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

चीनले केरुङ रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गरेकोमा नेपालका तर्फबाट धन्यवाद दिए । महराले तातोपानी नाका पनि चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरे । औपचारिक वार्तापछि संयुक्त प्रेस सम्मेलन भएको थियो र त्यसलगत्तै चिनियाँ विदेशमन्त्रीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज दिएका थिए ।

यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण तथा चिनियाँ उपप्रधानमन्त्री वाङ यीको नेपाल भ्रमणका वेला भएका पछिल्ला सहमति कार्यान्वयनमा नेपाल र चीन सहमत भएका छन् ।

ओबिओआरअन्तर्गतका सबै सम्झौता तथा समझदारी कार्यान्वयनका लागि दुवै पक्ष तयार छन् । सीमापार आर्थिक सहकार्यका क्षेत्र, लगानी प्रवद्र्धन तथा आर्थिक सहायता तथा स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको स्तरोन्नतिसम्बन्धी आपसी पत्राचार कार्यान्वयनमा नेपालले जोड दिएको थियो । यसमा चीनले सहमति जनाएको छ । ‘नेपाल एक चीन नीतिमा दृढ छ । कुनै पनि अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नेपालको नीति छ । ‘परिपक्वता, सद्भावना र आपसी हितबाट निर्देशित चीनको छिमेक कूटनीतिको हामी प्रशंसा गर्छौँ,’ महराले भने, ‘ओबिओआरले नेपालको भौतिक पूर्वाधार, सीमापार कनेक्टिभिटी (सडक र रेलसहित), व्यापार, पर्यटन, लगानी तथा पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउनुपर्छ भन्नेमा नेपालको अपेक्षा छ ।’

परराष्ट्रमन्त्री महराले केरुङबाट काठमाडौं, पोखरा र लुम्बिनी जोड्ने नेपाल–चीन सीमापार रेल्वे लाइनको सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न गर्नेबारे छलफल भएको जानकारी दिए ।

पारवहन यातायात सम्झौताको प्रोटोकलसम्बन्धी मस्यौदामा आपसका दृष्टिकोण आदानप्रदान भएको महराले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बताए । ‘यसलाई शीघ्र अन्तिम रूप दिन घनीभूत वार्ता गर्ने सहमति गरेका छौँ । नेपालको चीनसँग ठूलो व्यापार घाटा अन्त्यका लागि सहयोगी उपायहरू अपनाउने पहलकदमी लिइदिन म चीनका विदेशमन्त्रीलाई आग्रह गर्छु,’ महराले भने ।

दुई समझदारीपत्रमा हस्ताक्षर
दुई देशबीच ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्साल तथा चीनका तर्फबाट नेसनल इनर्जी एडमिनिस्ट्रेसनका उपमहानिर्देशक हे याङले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि दुई देशबीच ऊर्जा उत्पादन परियोजनामा साझेदारी, सीमापार विद्युत् प्रसारण लाइनजस्ता ऊर्जा ग्रिड विकासको सम्भाव्यता अध्ययनका लागि थप सहज हुने विश्वास दुवैको छ । यसैगरी, चीनको झोङजिन्ग्रुन पर्यटन लगानी कम्पनीसँग पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!