अाज सरकारमा जाने राप्रपा प्रजातान्त्रिकको याेजना अन्योलमा

काठमाडौं, भदौ २३ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाबीच सरकार विस्तारका विषयमा भएको छलफल विनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको छलफलमा मन्त्री र मन्त्रालयका विषयमा कुरा नमिल्दा शुक्रबार गर्ने भनिएको सरकार विस्तार पनि अन्योलमा परेको छ ।

 

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले प्रधानमन्त्रीसँग सरकार विस्तारका विषयमा भएको छलफल निष्कर्षमा नपुगेको जानकारी दिए । ‘प्रधानमन्त्रीसँग सरकारमा सहभागिताका विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

हाम्रो पार्टीले पाउने मन्त्रालय र मन्त्रीका विषयमा थप छलफल गर्नुपर्नेछ,’ राणाले भने, ‘अझै गहन छलफल गर्नुपर्ने भएकाले शुक्रबार सरकार विस्तार हुने सम्भावना त्यति देखिन्न ।’

राप्रपा प्रजातान्त्रिकले प्रधानमन्त्रीसँग चार मन्त्रालय माग्दै पठाउने नेताको नाम पनि अनौपचारिक रूपमा टुंग्याइसकेको छ ।

अध्यक्ष राणानिकट स्रोतले सरकारमा उपाध्यक्षद्वय दीपक बोहरा र विक्रम पाण्डे, महामन्त्री सुनिलबहादुर थापा र केन्द्रीय सदस्य रामकुमार सब्बालाई मन्त्री बनाउने अनौपचारिक सहमति भएको बतायो । तर, प्रधानमन्त्री देउवाले बोहराको नाममा असन्तुष्टि जनाएपछि कुरा मिल्न नसकेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!