राजपाले छाता, नयाँ शक्तिले आँखा, कुन दलले के चुनाव चिन्ह पाए त ?

काठमाडौं, भदौ २३ ।   निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका पार्टीहरुलाई बिहीबार निर्वाचन चिह्न प्रदान गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले निवेदन दिने दलहरुको चिह्न निक्र्यौल गरेको हो । मंसिर १० र २१ गते हुने उक्त चुनावका लागि ९५ वटा दलहरुले दल दर्ताको निवेदन आयोगमा बुझाएका थिए ।

हाल संसदमा रहेका राजनीतिक दलहरुले यसअघि प्रयोग गर्दै आएका चुनाव चिह्न नै पाएका छन् । नयाँ दलहरुले पनि आफूले माग गरेअनुसारकै चुनाव चिह्न पाएका छन् ।

स्थानीय चुनावका बेला आफूले भने अनुसार चिह्न नपाएका राजपा, नयां शक्ति लगायतका दलहरु अब उनीहरुले चाहेकै चुनाव चिह्नमा चुनाव लड्न पाउने भएका छन् । आयोगले माग अनुसार नै राजपालाई छाता र नया शक्तिलाई आंखा चुनाव चिह्न दिएको छ ।

स्थानीय तहको चुनावमा आफूले भने अनुसारको चिह्न नपाएपछि राजपाले साईकल चुनाव चिह्न प्रयोग गरेको छ भने नया शक्तिले संघीय समाजवादी फोरमको चुनाव चिह्न प्रयोग गरेको थियो ।

नया शक्तिले तेस्रो चरणको स्थानीय तहको चुनावमा फोरमले आफ्नो चिह्न प्रयोग गर्न नदिएपछि स्वतन्त्र चिह्न लिएर प्रतिस्पर्धा गर्दैछ । त्यस्तै विवेकशिल साझा पार्टीले तराजु चिह्न पाएको छ ।

केही राजनीतिक दलको चुनाव चिह्न भने मिल्दोजुल्दो छ । राप्रपाबाट हालै छुट्एिको राप्रपा प्रजातान्त्रिकले ‘गोलाकारभित्र हलो’ चिह्न पाएको छ । तर राप्रपाबाट यसअघि नै छुट्एिको प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा राष्ट्रवादी पार्टीले पनि मिल्दोजुल्दो चिह्न ‘आयातकारभित्र हलो’ पाएको छ । झट्ट हेर्दा दुबै चिह्न उस्तै लाग्छन् ।

त्यस्तै राजपाले पाएको छाता चिह्नसंग मिल्दोजुल्दो चिह्न अर्को पार्टीले पनि पाएको छ । जनशक्ति पार्टीलाई गोलाकारभित्र छाता चिह्न प्रदान गरिएको छ ।

-कांतिपुरबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!