करिश्मालाई पढ्नलाई उमेरले छेकेन, गलत टिप्पणीलाई कुल्चेर अघि बढ्ने अठोट

चर्चित अभिनेत्री तथा नयाँ शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् । ७ कक्षा पढ्दै गर्दा १४ वर्षको उमेरमै नेपाली चलचित्र क्षेत्रमा उदाएकी अभिनेत्री करिष्माले जीवनको लामो समय चलचित्रको दुनियाँलाई समर्पण गरिन् । नेपाली चलचित्र ‘सन्तान’बाट चलचित्रको दुनियाँमा प्रवेश गरेकी करिष्माले अभिनयकै हिसावले भन्ने हो भने उनले पिएचडी गरिन भन्दा फरक नपार्ला । त्यस्तै सुन्दरताका हिसाबले भन्नुपर्दा पनि उनी ‘एभरग्रिन’ मानिन्छिन्। उनी अभिनयमा मात्र होइन, फिल्म निर्माणमा पनि उत्तिकै सक्रिय छिन्।

अनुभव र जीन्दगीमा सफल मानिएकी करिष्माले आफूलाई औपचारिक शिक्षाको अभाव खड्किएकाले अध्ययनलाई पूरा गर्ने योजना बनाईन् । गीता राणा प्रिन्सिपल रहेको ग्यालेक्सी पब्लिक स्कुलबाट गत वर्ष कक्षा आठ पास गरेकी करिष्माले मैतीदेबीस्थित वाङ्देन लामा प्रिन्सिपल रहेका त्रिवेणी पब्लिक स्कुलमा यो वर्ष कक्षा ९ मा भर्ना भइन् । ‘करिष्मा बाहिर सबैकी सेलिब्रेटी भएपनि स्कुलको हातभित्र अन्य विद्यार्थीसरह एक छात्रा हुन’, स्कुलका प्रिन्सिपल लामाले भने । करिश्माको उपस्थितिले पढाइमा कमजोर विद्यार्थीलाई समेत प्रेरित गरेको छ। विद्यार्थीहरू पढाइलेखाइमा करिश्माजस्तै उत्साही भएको उनी बताउँछन्।

चलचित्रको पर्दामा करिष्माले धेरै पटक शिक्षिका, वकिल, धेरै पढेको व्यवसायी, प्रहरी आदि इत्यादीको भूमिका निर्वाह गरिसकेकी छिन् । तर वास्तविक जीवनमा पनि उनी औपचारिक शिक्षा लिन चाहन्छिन् ।

उनीमा पढ्ने उत्सुकता रहेका कारण अनुशासित भई कक्षामा बस्छिन्, गृहकार्य गर्छिन्, अन्य विद्यार्थीहरुसँग मिलेर पढ्छीन अनि अनुभवहरु साटासाट गर्छन् । कक्षा कोठामा सबैभन्दा अभिभावक जस्तो देखिने करिष्मा अनुभवमा धेरै अगाडि छिन् त्यसैले शिक्षक–शिक्षिकाहरुले पनि कक्षामा इमान्दारिताका साथ पढाउछन् ।

विशेष काममा विदा लिनुपरे करिष्मालाई निवेदन दिएर विदामा बस्न पाइने अन्यथा अन्य विद्यार्थीसरह उनी निरन्तर कक्षामा उपस्थित हुने गर्छिन । उनलाई विद्यालय पोसाक लगाउनु पर्दैन र उनी विद्यालय आउँदा आफ्नै कारमा आउने गर्छिन् । अन्यथा विद्यालयका हरेक नियमहरुको उनले पालना गर्छिन् ।

व्यावहारिक शिक्षाका सँगसँगै औपचारिक शिक्षाको पनि उत्तिकै महत्व रहेको बुझेर विद्यालय भर्ना भएको करिष्माको भनाइ छ । उसोतः कलाकारको रुपमा देश विदेश हिँड्दा पनि उनी आफूमा सँधै औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लाग्ने गरेको बताउँछिन् । त्यही पीडालाई शान्त पार्न अहिले विद्यालयको ढाेकासम्म पुगेको उनको भनाई छ ।

करिश्माको स्कुल भर्नाले धेरैलाई चकित पारेको छ । उनको यो कदमलाई सही भएको भन्दै धेरैको शुभकामना ओइरो लागेको छ । फेसबुक, ट्वीटर, सामाजिक सञ्जालहरुमा उनको यो ‘पढ्नुपर्छ’ भन्ने इच्छा शक्तिलाई धेरैले स्वागत गरेका छन् । उसोतः टिकाटिप्पणी पनि नभएका भने होइनन् । तर करिष्माले त्यस्ता टिकाटिप्पणीहरुले आफूलाई कुनै असर नगर्ने बताउँछिन् ।

चलचित्रको पर्दामा करिष्माले धेरै पटक शिक्षिका, वकिल, धेरै पढेको व्यवसायी, प्रहरी आदि इत्यादीको भूमिका निर्वाह गरिसकेकी छिन् । तर वास्तविक जीवनमा पनि उनी औपचारिक शिक्षा लिन चाहन्छिन् ।

आफूले जीवनमा धेरै संघर्ष गर्नु परेको र समस्यासँग जुध्नसक्ने क्षमता आफूले बनाईसकेको उनी बताउँछिन् । त्यस्ता ‘स्कुल भर्ना’को विषयमा आएको गलत टिकाटिप्पणीलाई आफूले कुल्चेर अघि बढ्ने नायिका करिष्माले बताएकी छिन् ।

केही नयाँ सिक्ने र नयाँ अनुभव बटुल्ने उनको धोको छ। पढ्नलाई उमेरले छेक्दैन भन्दै अन्य त्यस्ता बाध्यता र विवषताले विगतमा पढाइ छोडेकाहरुले पनि पढ्नुपर्ने सुझाव उनी दिन्छिन् । करिष्माकी एक मात्र छाेरी कबिता अहिले स्नातक तहमा अध्यनरत छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!