जनप्रतिनिधिलाई मन्त्री प्रसाईसहित झापाका महिला नेतृको ३ बुँदे सुझाव

बिर्तामोड, भदौ २२। कृषि राज्यमन्त्री सरिता प्रसाईंसहित झापाका महिला नेतृहरुले जनप्रतिनिधिहरुलाई स्थानीय तहमा महिला मैत्री वातावरण सृजना गर्ने लगायतका तीन बुँदे सुझाव दिएका छन् ।

संवाद समूह झापाको संयोजनमा बिहीबार बिर्तामोडमा भएको ‘महिलाका मुद्दामा जनप्रतिनिधिको भूमिका’ विषयक छलफलमा उनीहरुले त्यस्तो सुझाव दिएका हुन् ।

मन्त्री प्रसाईंसहित महिला नेतृहरुले महिलामाथि गरिने सबैखाले हिंसा, विभेदको अन्त्य गर्दै स्थानीय तहको विकास निर्माणमा महिलालाई समानरुपमा सहभागी गराउन जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

त्यस्तै संविधान र कानून प्रदत्त महिलाका अधिकारलाई कार्यान्वयन गर्न जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको सुझाव छ । स्थानीय तह सञ्चालनलाई प्रभावकारी बनाइ जनतालाई परिवर्तनको अनुभूति दिन निष्पक्ष र पारदर्शी ढंगले काम गर्दै दलहरुसँगको समन्वय र सहमतिमा काम अघि बढाउन पनि महिला नेतृहरुले जनप्रतिनिधिलाई सुझाएका छन् ।

मन्त्री प्रसाईंले मुलुकको हरेक परिवर्तनमा महिलाको अग्रणी भूमिका रहेको चर्चा गर्दै निर्वाचनबाट स्थानीय तहमा भएको महिलाको प्रतिनिधित्वलाई उपलब्धीको रुपमा लिनुपर्ने बताइन् । महिलाले नेतृत्व गरेका निकाय र क्षेत्रले सफलता पाएको बताउँदै उनले महिलालाई अवसरको खाँचो रहेको बताइन् । महिलाका अधिकार स्थापित गर्न स्थानीय तहका जनप्रतिनिधिलाई ठूलो चुनौतिसँगै अवसर रहेको मन्त्री प्रसाईंको भनाइ थियो ।

अब महिलाका साझा समस्याहरु पहिचान गरेर समाधानका लागि साझा निश्कर्ष निकालेर त्यो अनुरुपको स्थानीय कानून बनाउन उनले जनप्रतिनिधिलाई सुझाव दिएकी छिन् । सबै पार्टी र क्षेत्रका महिला तथा जनप्रतिनिधिहरु एकै ठाउँमा बसेर संवादको माध्यमबाट त्यस्तो निश्कर्षमा पुग्नुपर्ने र त्यस्तो कार्यमा आफू पनि सहभागी हुने र सहयोग गर्ने मन्त्री प्रसाईंले बताइन् । उनले जनप्रतिनिधिले सर्किण सोच र दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताइन् ।

नेपाल महिला संघकी जिल्ला सभापति सुशिला ढकाल, कांग्रेस नेतृ उमा शिवाकोटी, अखिल नेपाल महिला संगठनकी जिल्ला अध्यक्ष जसमाया गजमेर, माओवादी केन्द्रकी प्रतिनिधि तथा अन्तर पार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष सरु न्यौपाने, राप्रपाको महिला संगठनकी प्रतिनिधि एवम् महिला सुरक्षा दवाव समूहकी अध्यक्ष शारदा रिजाल, संघीय समाजवादी फोरमकी पुष्पा लिम्बू, एकल महिलाकी जिल्ला सचिव जमुना खरेल, वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष पार्वता विमली, महिला उद्यमी संघकी अध्यक्ष गोमा भट्टराई, समाजसेवी कञ्चना सिटौला, अन्तरपार्टी महिला सञ्जाल कनकाई नगरकी सिता बस्नेत, पत्रकार महासंघ झापाकी सदस्य सुशिला संग्रौलाले महिलाका विभिन्न समस्याबारे अवगत गराउँदै जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

तस्वीरः कमलप्रसाद पाण्डे (विनोद)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!