२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी

काठमाडौँ, भदौ २२ । स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १२ः३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख÷अध्यक्ष पदमा एक हजार ५१०, उपप्रमुख÷उपाध्यक्ष पदमा ९७५, वडाध्यक्ष पदमा छ हजार २८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

खुल्ला सदस्य दुई पदमा १० हजार ५१९, महिला सदस्यमा चार हजार ७४८ र महिला दलित सदस्यमा चार हजार २६६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराउनुभयो । यस निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । तेस्रो चरणको निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!