कांग्रेसका उम्मेद्वारः सभापतिका भतिजदेखि भाइबुहारीसम्म, छोरादेखि भतिजसम्म

कांग्रेसले प्रदेश नं. २ मा नेतादेखि व्यापारीका परिवारसम्मलाई उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, नेतानिकटदेखि गुटगत रूपमा पनि टिकट दिइएको छ । राजनीतिमा सक्रिय नभएकालेसमेत टिकट पाएका छन् ।

प्रदेश नं. २ मा टिकट वितरणमा नेता विमलेन्द्र निधि सबैभन्दा बढी सक्रिय भए । सभापति शेरबहादुर देउवाले नै उनीसहित महामन्त्री डा. शशांक कोइरालालाई टिकट दिने जिम्मेवारी सुम्पिएका थिए । शशांकलाई मात्र छलफलमा सहभागी गराइएपछि टिकट छलफलको अवधिभर पौडेल पक्षमै असन्तुष्टि रह्यो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा देउवा पक्षकै जिल्ला सभापति छन् । आफ्नो पकड रहेका क्षेत्र वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकामा नेता निधिले आफूनिकटका नेतालाई टिकट दिलाएका छन् ।

कोषाध्यक्षका छोरा मेयरका उम्मेदवार
सिरहाको सिरहा नगरपालिकाको मेयरमा कोषाध्यक्ष एवं पूर्वमन्त्री सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई मेयरको उम्मेदवार बनाइएको छ । मेडिकल डाक्टर यादव राजनीतिमा समेत सक्रिय छन् ।

रौतहटमा उद्योगपतिका छोरा
रौतहटमा उद्योगपति ओमप्रकाश जैसवालको छोरा अजयप्रकाश साहले कटहरिया नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । २१ वर्षीय उनी कांग्रेसको क्रियाशील सदस्यसमेत छैनन् । कांग्रेसमा उम्मेदवार बन्न क्रियाशील सदस्य हुनुपर्ने प्रावधान नभए पनि राजनीति गर्नेलाई छाडेर उद्योगपतिका छोरालाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टि देखिएको छ ।

कलैयामा केन्द्रीय सदस्यका छोरा उम्मेदवार
बाराको कलैया उपमहानगरपालिका मन्त्री फर्मुल्लाह मन्सुरले भाइलाई मेयरको उम्मेदवार बनाउन खोजेका थिए । तर, केन्द्रीय सदस्य राधेचन्द्र राय यादवका छोरा राजेश रायलाई उम्मेदवार बनाइएको छ ।

महोत्तरीमा पार्टी सभापतिका भतिजा
औरही गाउँपालिकाको अध्यक्षका उम्मेदवार सुनीलकुमार यादव जिल्ला सभापति महेन्द्र रायका भतिजा हुन् । सुनील कांग्रेस क्रियाशील सदस्यसमेत छैनन् ।

सप्तरीमा सभापतिकी भाइबुहारी
सप्तरी जिल्ला सभापतिकी भाइबुहारी सुशीलाकुमारी यादव राजविराजको मेयरको उम्मेदवार बनेकी छिन् ।

सर्लाहीमा सभापतिका भतिजा
सर्लाही कांग्रेस सभापति नागेन्द्र रायका भतिजा रुपेशकुमार राय कौनेडा गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेका छन् ।

केन्द्रले जित हेर्‍यो, नेता–कार्यकर्ताले टिकट हेरे
कांग्रेस र माओवादीबीच प्रदेश नं. २ मा चुनावी गठबन्धन गर्ने प्रचार गरिए पनि दाबी गरेजसरी हुन सकेन । घोषित रूपमा बारा, धनुषा र रौतहटमा मात्रै चुनावी तालमेल भयो ।

‘परिवर्तनका शक्तिहरू एक ठाउँमा उभिने र गणतन्त्रलाई संस्थागत गर्ने गरी हामीले केन्द्रबाटै चुनावी तालमेलको नीति लिएका थियौँ,’ माओवादीसहितका दलसँग चुनावी तालमेलका खटिएका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘हामीले केन्द्रबाट जित्नका लागि तालमेल भन्यौँ । तर, जिल्लामा साथीहरूले टिकट पाउनुलाई नै महत्व दिएपछि अपेक्षित तालमेल हुन सकेन ।’

कांग्रेसले १३६ तहमध्ये झन्डै सयमा जित्न पूर्व–पश्चिम राजमार्गमा एमाले प्रभाव रहेका ८ वा ९ ठाउँमा चुनावी तालमेलको नीति लिएको थियो । मुख्यगरी सिरहाका गोलबजार, मिर्चैया, कर्जन्हामा माओवादीसँग तालमेल गर्ने तयारी गरे पनि अन्तिम समयसम्मको प्रयास सफल हुन नसकेको ढुंगानाले जानकारी दिए । माओवादीले मिर्चैया र कर्जन्हा दुवैमा दाबी गरेपछि तालमेल नभएको उनले बताए । सर्लाहीको लालबन्दीमा मेयर दिन खोज्दासमेत माओवादी नै इच्छुक नरहेको ढुंगानाले दाबी गरे । ‘हामी उमपेयर राखेर मेयर माओवादीलाई दिन तयार थियौँ । तर, वडाहरू पनि उनीहरूले धेरै माग्दा तालमेल हुन सकेन,’ उनले भने । कांग्रेसमा तयारी गरेजस्तो तालमेल हुन नसकेपछि अपेक्षा गरेजस्तो नजिता नआउने देखिएको छ ।

उम्मेदवारी फिर्ता गरेर तालमेल नहुने
यसअघि पहिलो चरणको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसले उम्मेदवारी दिइसकेपछि फिर्ता गर्दै माओवादीसँग तालमेल गर्दा नेता–कार्यकर्तामा समस्या देखिएको थियो । यसपटक त्यसबाट सिक्दै दिइसकेको उम्मेदवारी फिर्ता लिएर तालमेल नगर्ने ढुंगानाले बताए ।

महानगरपालिका र उपमहानगरपालिका तालमेलविहीन
कांग्रेस र माओवादीबीच पहिलो र दोस्रो चरणकोे स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिमा चुनावी तालमेल भएको थियो । चितवनको भरतपुर महानगरपालिका र मकवानपुरको थाहा नगरपालिकासहितका तहमा तालमेलले काम गरेको थियो । तर, प्रदेश नं. २ मा एक मात्र महानगर वीरगन्ज, बाराका दुई उपमहानगर कलैया र जितपुर–सिमरा तथा धनुषाको जनकपुर उपमहानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल हुन सकेन । यी ठाउँमा पनि तालमेलको प्रयास भए पनि दुवै दलबाट आ–आफ्नै उम्मेदवार उठाइएको जानकारी ढुंगानाले दिए ।

रौतहटको चन्द्रपुरमा ओली र नेपाल पक्षको विवाद
रौतहटको चन्द्रपुर नगरपालिकामा विवादबीच एमालेका तर्फबाट उद्धव रेग्मीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश संयोजक मण्डलले रेग्मी र अर्का दाबेदार बाबुराम दाहाल दुवैलाई मनोनयनका लागि पत्र दिएपछि आधिकारिकताबारे तीव्र विवाद भएको थियो । स्थानीय कार्यकर्ता पनि दुई पक्षमा विभाजित भएका थिए । तर, संयोजक मण्डलले रेग्मी नै आधिकारिक भएको निर्वाचन कार्यालयलाई जानकारी गराएपछि दाहालले दाबी फिर्ता लिएका छन् । रेग्मीलाई अध्यक्ष केपी ओली र दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपालको समर्थन रहेको थियो ।

मंगलबार पार्टी कार्यालयले सार्वजनिक गरेको सूचीमा दाहालको उम्मेदवारी सार्वजनिक भए पनि विवादकै बीचमा रेग्मीले उम्मेदवारी दर्ता गराएका हुन् । ‘दुवैले मनोनयनपत्र पाएकाले अन्योल देखिएको थियो । तर, अन्तिममा रेग्मीको पक्षमा निर्णय भयो,’ प्रदेश नं. २ का सहसंयोजक नागेन्द्र चौधरीले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!