यसकारण प्रचण्ड यस युगका महान् योद्धा

नगेन्द्रराज प्रसाई/

म माओवादी होइन; तर मैले आफूलाई मन पर्ने बर्तमान राजनीतिज्ञको नाउँ लिनु पर्यो भने प्रचण्डका विकल्पमा अरू नाउँ नै पाउन सक्तिन । त्यतिमात्रले पनि पुग्दैन; नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छ; जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क.पुष्पकमल दाहाल प्रचण्ड । यो बेहोरा वक्ता जजसको अनुहार निचोरिए पनि प्रचण्ड नेपाल राष्ट्रका आधुनिक राजनीतिका बादशाह हुन्; उनको जोडा अझै कैयौं वर्ष नेपालले पाउन गाह्रै छ ।

नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छ; जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क.पुष्पकमल दाहाल प्रचण्ड ।

प्रचण्ड लाउरे बाउरे नेता पनि होइनन् । उनी सशक्त राजनेता हुन् । मै हुँ भन्ने राजनीतिज्ञहरूलाई पनि पानी पित्त छदाउन सक्ने उनी वीर योद्धा हुन् । लोभीपापीलाई चिची र पापा देखाएर, भिडन्तलाई पाखुरी देखाएर र शासकलाई पौरख देखाएर पाहा पछार्न सिपालु खेलाडीको नाउँ पनि प्रचण्ड नै हो ।

प्रचण्डले नेपाली काङ्ग्रेस र एमालेलाई १२ बुँदे सहमति गराएर आफ्नो राजनैतिक हैसियतलाई इतिहासमा स्वर्णिम बनाएको सर्वसत्य हो । अहिले आएर जजसले जेजे भने तापनि प्रचण्ड नभए नेपालमा गणतन्त्र आउँदैनथ्यो । हो, गणतन्त्रले नेपाल उस्केन र गणतन्त्रकै कारण नेपालीले हरदिन विचलित हुनु परेको छ; यो बेग्लै प्रसङ्ग हो । साथै यसबारे पनि मेरो कलमले आफ्नो आत्मकथामा वृतान्त नै लेखिसकेकै छ ।

गणतन्त्र जसरी र जेगरी आए तापनि यो परिवर्तन प्रचण्डको शक्तिकै प्रतिबिम्ब हो । पहिलो चरणमा नेपालमा गणतन्त्र आयो र दोस्रो चरणमा काङ्ग्रेस र एमालेलाई माओवादीले “चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी”मा रूपान्तर गराई रहेको छ । त्यसैले म बराबर भन्दै आएको छु “एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात (माओवादी) हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।”

नेपालमा गणतन्त्रको प्रवेशपछि “नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी हुन पाउँ” भनेर धेरैले प्रचण्ड माने । लुकेर कसैको जुठो पुरो खानुभन्दा हाकाहाकी प्रचण्डकै जुठो खान पनि मान्छेहरू लालायित भए । अनि झण्डा पनि रातै बोक्नु परे प्रचण्डले नै निर्माण गरेको झण्डा उठाउँदा गौरव मान्नेको ताँतीको पनि बढोत्तरी भैरह्यो ।

“एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात (माओवादी) हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।”

कुनै समय यस्तो पनि थियो जुन समयमा धेरैले प्रचण्डको रूप हेर्न चाहेका थिए । जब एकाएक झुल्के प्रचण्ड; सबैले कर्तवलध्वनीले प्रचण्डको रूपरेखाको स्वागत गरे । उनलाई भेट्न नेपाली काङ्ग्रेसदेखि एमालेका ठेकदारसम्म तँ छाड कि मछाड भनेर कुद्न थाले । मानौं प्रचण्ड “श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति” नै थिए । त्यसैले आधुनिक चाणक्य प्रचण्डले त्यसै बखत सबै नेताहरूको पेट छामे ।

हिजो प्रचण्ड नहुँदा सास फेर्न नसक्ने काङ्ग्रेस र एमालेका लागि सदैव प्रचण्ड भालु नभएका पनि होइनन् । प्रचण्डको कान समाउँ कहिलेसम्म ? अनि प्रचण्डको कान छाडौं त्यही ठहरै हुने ! के फसाद !

देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्तत: उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए ।

नेपाल किन कङ्गाल भएको छ भने काङ्ग्रेस र एमालेका कर्तुतबाटै नास भएको छ । २०४६ सालपछि सबै कलकारखाना, उद्योग व्यापार र वाणिज्यलाई निजीकरण गरेर व्यक्ति मौलाएकै घटना प्रचण्डले हेरिरहेका थिए । यी नेतामा राजनीति र जनप्रेम थिएन र अझै छैन पनि भन्ने बेहोरा प्रचण्डलाई थाहै थियो । देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्तत: उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए ।

प्रचण्डले नेपालको सम्पूर्ण राजनीतिलाई ओथारो बसेर आफ्नै कब्जामा राखेका छन् । उनले चाहेपछि मात्र राजनीतिको पात हल्लिने परम्पराको श्रीगणेश भएको छ । उनको पैतालाको धुलोको टीका नलगाउनेहरू अराष्ट्रपति भएर नै बसेको पनि देखियो । प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए । वास्तवमा जो सुकै झाम्रे झुम्रेले जस्तो सुकै सिंहाशन समाए पनि अन्तत: रिमोट त प्रचण्डै बने । खुइलिएको मोबाइल भएर के भयो त सुपर सिमकार्ड भएपछि त कुरै सक्कि गयो नि ! तसर्थ प्रचण्ड गणतन्त्रका सिमकार्ड हुन्; सिमकार्ड ! शक्तिशाली सिमकाड !

गणतन्त्रपछिको नेपालका सरकार र प्रधानमन्त्री पनि हामीले चाखिसक्यौँ । जति तमाशा हेर्नु थियो त्यसभन्दा धेरै पनि हेरिसक्यौँ ।

प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए ।

अबको नेपाललाई पनि यसरी नै प्रयोगको विषयवस्तु बनाउने कि तमासेको तमाशा देखाउने ? जनतालाई कति आजित बनाउने ? यस प्रश्नको उत्तर अब कमरेड प्रचण्ड सँगमात्र छ । अरू त थपना मात्र हुन्; जागिर खान कुरेका थपनाहरू !

नेपालमा दिगो राजनैतिक व्यवस्थाका लागि कमरेड प्रचण्डले नै पहल गर्नुपर्छ । यो राष्ट्रको मुहार हँसाउने कि यसरी नै रूवाउने कमरेड ! त्यसैले राष्ट्रवादी शक्तिसँग मिलेर देश बनाउन प्रचण्डले नै अघि सर्नुपर्छ । यदि होइन भने भोलि हामी नेपाली नहुन पनि सक्ने सम्भावनाले सङ्केत गरिसकेको छ ।

-नेपालपानाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!